April 27, 2024

पाल्पा,कात्तिक ११ ।
सुनिल कार्की ।
गठबन्धनका तर्फबाट पाल्पा निर्वाचन नं. २ प्रतिनिधीसभा सदस्यका उम्मेदवार सोम प्रसाद पाण्डेयले संविधान विरोधीहरुका विरुद्ध गठबन्धन स्वाभाविक, प्रभावकारी र दिगो हुने बताउनुभएको छ । नेकपा एकिकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहनुभएका नेता पाण्डेयले सत्ताको मातमा ओलीले संविधानले निर्धारण गरेका राजनीतिक नियममाथि पटक–पटक प्रहार गरेको र संवैधानिक निकाय कब्जा गर्न थालेकाले त्यसका बिरुद्ध गठबन्धन भएको बताउनुभएको हो ।

तानसेनमा भएको कार्यकर्ताहरुको भेटघाट तथा तिहारका अवसरमा शुभकामना कार्यक्रममा नेता पाण्डेयले असंवैधानिक र प्रतिगामी कदम रोक्न तथा संवैधानिक प्रक्रियालाई सहि बाटोमा ल्याउन ऐतिहासिक प्रक्रिया प्रारम्भ भएको बताउनुभयो । नेता पाण्डेयले त्यसको आधारस्तम्भ नै अहिलेको सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलित पाँचदलीय वाम–लोकतान्त्रिक गठबन्धन भएको बताउनुभयो ।

कार्यक्रममा निर्वाचन क्षेत्र नं. २ (१) का उम्मेदवार वीर बहादुर रानाले यो गठबन्धन ऐतिहासिक आवश्यकता भएको र असंवैधानिक एवं प्रतिगामी चिन्तनधाराविरुद्ध बनेको बताउनुभयो । नेता रानाले कांग्रेस र कम्युनिस्ट मिलेरै छयालीस र बैसठ्ठी–त्रिसठ्ठी सालको जनआन्दोलन गरेका भन्दै यिनै शक्तिबीचको सहमतिबाट संविधानसभाले यो संविधान बनाएको बताउनुभयो । रानाले लोकतन्त्र र संविधानका आधारभूत मूल्य र मान्यता रक्षाको सवालमा एक ठाउँमा उभिनु स्वाभाविक भएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापती हिमालदत्त श्रेष्ठ, नेकपा एसका जिल्ला अध्यक्ष कमल पाण्डेयलगाएतले गठबन्धनले राजनीतिक स्थायित्वलाई टेवा दिन सक्छ भन्ने सन्देश दिन सक्यो भने जनताको विश्वास प्राप्त गर्न सकिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *