May 2, 2024

पाल्पा, माघ ०६ ।

रामपुर नगरपालिकामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । रामपुर नगरपालिकाको आयोजना र दरैठाँटी माध्यमिक विद्यालयको व्यवस्थापनमा चौथो संस्करणको प्रतियोगिता शुक्रबार बाट सुरु भएको हो ।

विजयपुर स्थित दरैठाँटी माविको खेल मैदानमा सुरु भएको प्रतियोगिताको शुक्रबार भव्यताका साथ शुभारम्भ गरिएको छ । प्रतियोगिताको उट्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले स्वास्थ्य संगै शिक्षाका लागि खेलकुदले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले व्यवहार र खानपानको कारण बालक देखि वृद्ध सम्मलाई व्यायमको महत्व रहेको सन्दर्भमा खेलकुदले शारीरिक व्यायम बारे सचेतना जगाउने बताउनुभयो । उहाँले खेलकुद समाज र राष्ट्रलाई चिनाउने माध्यम रहेको बताउनुभयो ।

रामपुर नगर प्रमुख रमण बहादुर थापाले प्रतियोगिताले प्रतिस्पर्धा मात्र नभै सिक्ने अवसर प्रदान गर्ने बताउनुभयो । यस वर्ष जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड रामपुर मै सञ्चालन गर्नको लागि नगरले आग्रह गरेको र रामपुरमै प्रतियोगिता भएमा जिल्लाको सबै खेलाडीको दुर्घटना वीमाको व्यवस्था नगरपालिकाले गर्ने प्रतिवद्धता जनाउनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितले खेलले विद्यार्थीहरुमा धैर्यता संगै थप उर्जा दिने बताउनुभयो । रामपुर नगपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले सफलता प्राप्त गर्न अनुशासन महत्वपूर्ण हुने भन्दै खेलले अनुशासन र एकताको संदेश प्रवाह गर्ने बताउनुभयो ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी र तेक्वान्डो अन्र्तगतका विभिन्न खेलहरुमा नगर भित्रका १७ सामुदायिक र ४ संस्थागत गरी २१ विद्यालयका छात्रछात्राले प्रतिस्पर्धा गर्दैछ ।  स्थानीयस्तरमा रहेका खेल प्रतिभालाई उजागर र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित  प्रतियोगिता माघ ७ गतेसम्म सञ्चालन हुने दरैठाँटी माविका प्रधानाध्यापक एवं स्थानिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका सदस्य सचिव सुन्दर प्रसाद देवकोटाले जानकारी दिनुभयो ।

उद्घाटनको अवसरमा २१ विद्यालयको मार्चपास समेत रहेको थियो । नगर शिक्षा अधिकृत विकल काफ्ले तीन वटा संस्करणको उपाधी जित्दै रामतुलसी माविले रनिङ्ग शिल्ड जितेको र यस वर्ष बाट नयाँ रनिङ्ग शिल्डको लागि प्रतिस्पर्धा हुने बताउनुभयो । नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम, शिक्षा शाखा अधिकृत विकल काफ्लेको स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन स्थानिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति सदस्य दिपेन्द्र भट्टराई र राधिका केसीले गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *