आइसीसी लिग-२ : नेपालकाे एकदिवसीय मान्यता सुरक्षित

Facebook
X
WhatsApp
LinkedIn

काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्व कप लिग-२ अन्तर्गत जारी शृङ्खलामा यूनाइटेड अरब इमिरेट्स (यूएई)लाई हराउँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित गर्न सफल भएको छ । घरेलु मैदानमा आफ्नो दोस्रो खेलमा युएईलाई एक सय ७७ रनले हराउँदै नेपालले एकदिवसीय मान्यता कायमै राखेको हो । यो जितसँगै नेपालले थप चार वर्षका लागि एकदिवसीय मान्यता सुरक्षित राखेको छ ।

नेपालले सन् २०१८ मा पहिलो पटक क्रिकेटमा एकदिवसीय मान्यता पाएको थियो । लिगमा शीर्ष पाँच स्थानमा कायम रहने राष्ट्रलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले एकदिवसीय मान्यता दिने प्रावधान छ । आजको जितसँगै नेपाल सात राष्ट्र सम्मिलित लिग-२ को चौथौ स्थानमा उक्लेको छ । नेपालले अब दुई खेल खेल्न बाँकी बाँकी छ ।

आजको खेलमा नेपालको घातक बलिङसामु युएईका ब्याटर निरीह साबित भए । जितका लागि नेपालले दुई सय ४९ रनको लक्ष्य दिएकामा युएईको पारी ७१ रनमै ध्वस्त भयो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । नेपालले निर्धारित ५० ओभरको खेलमा ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २४८ रन बनाएको थियो । नेपालले २२ रन बनाउँदा तीन विकेट गुमाइसकेको अवस्थामा कप्तान रोहितकुमार पौडेलले पारी सम्हाले । उनले ११२ बल खेल्ने क्रममा नौ चौकासहित ७७ रन बनाए । पौडेल आजको खेलमा प्लेयर अफ द म्याच घोषित भए ।

यस्तै, आरिफ शेखले ५२ बल खेल्दै ४३, गुल्सन झाले ३१ बलमा ३७, दीपेन्द्रसिंह ऐरीले १९ बलमा ३४ रन र भीम सार्कीले ३७ बल खैल्दै २९ रन बनाए । बलिङतर्फ यूएईका लागि आयान अफजल खान, जहुर खान, रोहन मुस्तफा र जवार फरिदले दुई÷दुई तथा आर्यन लाक्रा र जुनैद सिद्धिकीले एक÷एक विकेट लिए ।

दुई सय ४९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा यूएईले २२ दबमलव पाँच ओभरमा आफ्ना सबै विकेट गुमाउन पुग्यो । युएईले आठ रन बनाउँदा चार विकेट गुमाएको थियो । उसका लागि आयान अफजल खानले सर्वाधिक २९ रन बनाए । यस्तै अशवान्थ वल्थपाले १४ तथा कार्तिक मैयाप्प्नले अविजित ११ रन बनाए ।

युएईलाई न्यून रनको योगफलमा समेट्नमा नेपालका ललितनारायण राजवंशीको महत्वपूर्ण भूमिका निभाए । उनले सात दशमलव पाँच ओभर बलिङ गर्ने क्रममा दुई मेडन राख्दै २० रन खर्चेर पाँच विकेट लिए । यस्तै सन्दीप लामिछानेले चार ओभरमा १४ रन खर्चेर दुई विकेट लिए । यसैगरी सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले एक/एक विकेट लिए । (रासस)

 

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्