May 2, 2024

पाल्पा,पुष २६ ।
सुनिल कार्की \
प्रत्येक वर्ष चान्द्रमास अनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि रुरु क्षेत्रधाम रिडिमा भक्तजनको भीड लागेको छ ।
नेपालकै चार धाम मध्येको एक रुरु क्षेत्रधाम रिडिमा पितृतीर्थ धाममा बिहानैदेखि भक्तजनको भीड लागेको ऋषिकेश मन्दिरका पुजारी चुरामणी  तिमिल्सेनाले जानकारी दिनुभयो । पौषकृष्ण औँसीमा विगतका वर्षमाभन्दा यस वर्ष भक्तजनको बढी भीड लागेका पुजारी तिमिल्सेनाले बताउनुभयो ।

दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ । पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात औँसीमा श्राद्ध गर्ने गरिएको हो । सौरमासअनुसार माघेसङ्क्रान्तिदेखि र चान्द्रमासअनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण सुरु हुन्छ । उत्तरायण सुरु हुनुअघिको औँसी अर्थात पौष कृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ ।

वैदिक सनातन धर्मावलम्बीले सके प्रत्येक वर्षमा नसके जीवनकालमा कम्तीमा पनि एकपटक तीर्थमा गई श्राद्ध गर्नुपर्ने शास्त्रीय नियम छ । यसै आधारमा आज पाल्पा स्थित कालिगण्डकी नदि किनारमा रहेको केलादी धाम, रानिमहल र राम्दी लगायतका तीर्थस्थलमा विधिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *