May 2, 2024
पाल्पा , कार्यस्थलमा हुने सबै प्रकारका दुरव्यवहारको आचार संहिता र लैंगिक नीति २०८० सम्बन्धि अभिमुखिकरण कार्यक्रम आइतबार रामपुर पाल्पामा सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा कार्यालयमा हुने दुरव्यवहार न्यूनिकरण र अन्त्यका लागि आचार संहिता र लैंगिक समानता तथा सामाजिक समावेशीकरणयुक्त बजेट निर्माण सम्बन्धि छलफल भएको थियो।
कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख तथा उपप्रमुखबाल कुमारी थापाले लैंगिक समानता तथा सामाजिक समावेशीकरणलाई समेटेर बजेट निर्माण गर्ने बताउनुभयो । उहाँले बजेट निर्माण गर्दा सवैलाई समेटेर गरे पनि शिर्षक नमिलाउँदा राज्यका विभिन्न निकायले गर्ने मूल्याङ्कनमा अंक कम आएको उल्लेख गर्नुभयो । साथै उहाँले नगरपालिकाको कार्यालय भित्र हुने विभिन्न दुरव्यवहारको अन्त्यका लागि आचार संहिता लागु गरिने बताउनु भएको छ। यस्तै कार्यक्रममा बोल्दै रामपुर नगरपालिका वडा नं. ९ का अध्यक्ष डिल बहादुर रानाले आचार संहिता निर्माण गरी लागु गरेर मात्रै हरेक दुरव्यवहार अन्त्य नहुने भन्दै यसलाई व्यवहारिक रुपमा उतार्न सबैले कार्यान्वयनको पक्षमा ध्यान दिनु आवश्यक रहेको औँल्याउनुभयो । यसैगरी रामपुर आयुर्वेद शाखाका प्रमुख चेमन प्रकाश पोखरेलले दुरव्यवहार गर्न र सहन दुवै नहुने भन्दै यसको न्यूनिकरण र अन्त्य गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा सार्वजनिक वित्तीय व्यवस्थापन कार्यक्रमका स्थानीय तह संयोजक सुर्य किसानले लैंगिक उत्तरदायी बजेट निर्माण ,पद्धति , यसको आवश्यकता र महत्वको विषयमा सहजिकरण गर्नु भएको थियो भने रामपुर नगरपालिकाका महिला बालबालिका शाखा प्रमुख पुजा परियारले कार्यस्थलमा हुने सबै प्रकारका दुरव्यवहारको आचार संहिताको विषयमा सहजिकरण  गर्नु भएको थियो । रामपुर नगरपालिकाका कार्यबहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पुजा परियारले गर्नु भएको थियो। कार्यक्रममा वडा अध्यक्ष ,जनप्रतिनिधि ,नगरपालिकाका शाखा प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *