April 28, 2024

पाल्पा,सुनिल कार्की \
नेपालका चारधाम मध्येको एक रुरु क्षेत्रधाम रिडिमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ पाल्पा भैरबको आयोजनामा ऋषिकेश सेवा आश्रममा शिविर सञ्चालन भएको हो ।

                           

शिविरमा आश्रममा रहेका ३५ वृद्धवृद्धा र १० बटुक बालबालिका सहित ४५ जनाले निशुल्क स्वास्थ्य सेवा लिएका छन । आश्रममा रहेका आश्रितलाई कुशे औंशी (बुवाको मुख हेर्ने) दिनको अवसरमा शिविर सञ्चालन गरिए थियो । शिविरमा तानसेन नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक चन्द्रतारा बस्याल,सुमन बराल र अर्गली स्वास्थ्य चौकीका अहेव बृहस्पती पचभैया नेतृत्वकोे स्वास्थ्यकर्मीको टोलिले निशुल्क स्वास्थ्य परिक्षण गरि औषधी वितरण गरेको थियो ।

                 

परिवारबाट टाडिएर सेवा आश्रममा विगत ४० वर्ष देखी बस्नु भएकी गुल्मीको सन्धिर्खकी ८१ वर्षी मनकला मरासिनिलले स्वास्थ्य चेक जाँच गराउन पाउँदा मन हलुङ्गो भएको बताउनुभयो । सामान्य चेकअपको लागि घण्टौं लगाएर तानसेन, अर्गली देखि रिडि सम्म जानुपर्ने बाध्यता हटेको मरासिनिले बताउनुभयो ।
यस्तै १५ वर्ष देखि आश्रममै रहनुभएकी रिब्दीकोट भैरबस्थानकी ७५ वर्षीय लक्ष्मी आचार्यले लामो समय पछि आश्रममै स्वास्थ्य समस्या राखेर चेकजाँच गरि औंषधी पाएको बताउनुभयो । भएक छोराहरुले नहेर्दा आश्रममा आएर बस्न परे पनि बाहिरका छोराहरुले यसरी सेवा गरेको देख्दा खुशी लागेको बताउनुभयो ।

आश्रममा वृद्धहरुको निशुल्क स्वास्थ्य परिक्षण,औषधी वितरण गरिएको थियो । कार्यक्रममा ऋषिकेश मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टराईले स्वास्थ्य सेवा बाहिर रहेका आश्रितलाई यसरी सेवाको कार्यक्रमले धेरै राहात मिलेको बताउनुभयो । आश्रममा अभाव खड्की रहेको स्वास्थ्य परिक्षण जस्तो महत्वपुर्ण कार्यक्रमले आश्रितको दैनिकिलाई सजिलो बनाएको अध्यक्ष भट्टराईले बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष लायन्स क्लब अफ पाल्पा भैरबका प्रेसिडेन्ट सचिन विष्टले सेवा देखाउनका लागि भन्दा पनि साँच्चिकै सेवाग्राहीले महशुस गर्ने गरि वार्षीक कार्यक्रम अघि बढेको बताउनुभयो । आश्रममा रहनुभएका आश्रितलाई आफ्ना छोराछोरीको अभाव खड्कीन नदिन स्वास्थ्य शिविर जस्तै अन्य कार्यक्रमलाई समेत निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै क्लबका उपाध्यक्ष दिपक घिमिरेले आश्रम रहित आममबुवा अहिलेको आवश्यकता भएको भन्दै आमबुवालाई वृद्धाआश्रम बस्न बाध्य पारेका सन्तती असामाजिक प्राणी भएको बताउनुभयो । अबको समय वृद्धाआश्रमबाट घर फर्काउने अभियानको सुरुवात गर्न आवश्यक रहेको भन्दै अब मानवीय चेतनाको विस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय पाल्पाकी सदस्य बसन्ता ज्ञवाली,रुरु सञ्चार डक कमका चुरामणी तिमिल्सेना, नेपाल टेलिभिजनका पाल्पा संवाददाता सुनिल कार्की, लायन्स क्लब अफ पाल्पा भैरबका सदस्य टिम लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन क्लबका सचिब सुमन बस्यालले गर्नुभएको थियो ।

शिविरमा अविक मेडिसिन सप्लार्यस प्रालि तानसेनले औषधी सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *