२० औँ महिला स्वास्थ्य स्वयंसेविका दिवस रामपुर पाल्पामा मनाईयो

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा , २० औँ महिला स्वास्थ्य स्वयंसेविका दिवस रामपुर नगरपालिकामा मनाईएको छ । रामपुर नगरपालिका स्वास्थ्य शाखाले नगरभित्रका स्वयमसेविकाहरुको सहभागितामा एक कार्यक्रमका विच दिवस मनाएको हो ।

दिवसको अवसरमा मंगलबार अन्तरक्रिया सहित स्वयंसेविका सम्मान कार्यक्रम गरेको छ । कार्यक्रममा उमेर हदका कारण सेवाबाट अवकास हुनु भएका वडा नं. ४ का तारादेवि सुनाम र वडा नं. ७ का लक्ष्मीदेवि भट्टराईलाई सम्मान गरेको हो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले नजिकबाट सुत्केरी आमा र बच्चाको जीवन र भविष्य स्वास्थ्य स्वयंसेविकाको हातमा हुने बताउनुभयो । सुत्केरी आमा र बच्चाको स्वस्थ्य अवस्था नजिकबाट बुझ्ने र जान्ने एक मात्र पहिलो व्यक्ति स्वयंसेविका रहेको बताउनुभयो । उहाँले पछिल्लो केही बर्ष यता आमा र शिशु मृत्यू दर कम हुनुमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको ठुलो हात रहेको औल्याँउनुभयो ।  समुदायको स्वास्थ्य कस्तो बनाउने भन्ने कुरा स्वास्थ्य स्वयंसेविकाको महत्पूर्ण भूमिका हुने पनि उल्लेख गर्नुभयो । साथै उपप्रमुख थापाले न्यून सेवा सुविधाका विच पनि स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरुले पु¥याएको योगदानको प्रसंसा गर्नुभयो ।

नगर सभाहलमा भएको कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले हरेक मानिसको स्वास्थ्यको पहिलो पाठशाला महिला स्वास्थ्य स्वयंसेविका भएको बताउनुभयो । समुदायका मासिको स्वास्थ्य सेवाको लागि सहि सल्लाह दिन आग्रह गर्नुभयो । स्वच्छ बच्चा जन्माउनका लागि स्वयंसेविकाहरुको सल्लाह महत्वपूर्ण हुने बताउनु भयो । यस्तै रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले समुदाय स्वास्थ्यमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका महत्वपूर्ण हुने भए पनि श्रम अनुसारको सम्मान गर्न नसक्नु दुखद पक्ष रहेको उल्लेख गर्नुभयो । गाँडाकोट स्वास्थ्य चौकीका प्रमुख मजिबुर रहमान शेखले समुदायस्तरमा स्वयंसेविकाहरु नखटिए समग्र समुदायको स्वास्थ्य अवस्था विग्रने बताउनुभयो ।

कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरुको तर्फबाट बोल्दै रामपुर १० गेझाका मधुवाला दर्लामीले जिम्मेवारी धेरै भए पनि सोही अनुसारको सुविधा नभएको गुनासो गर्नुभयो । यस्तै सम्मानित स्वयंसेविका लक्ष्मीदेवि भट्टराईले सरकारको नियम अनुसार सेवाबाट विदा भए पनि समुदायबाट विदा नभएको र सधै समुदायको स्वास्थ्य सेवामा लागि रहने बताउनुभयो । आफुहरुले लामो समय सम्म गर्दै आएको कामबाट कहिल्यै टाढा हुन नसक्ने भन्दै आफुले जानेको सहयोग र सेवा दिई रहने बताउनु भएको छ । कार्यक्रममा सेवाबाट अवकास पाउनु भएका स्वयंसेविकाहरुलाई दोसल्ला र प्रमाण पत्रले सम्मान गरेको थियो ।

सोही अवसरमा लैंगिक हिंसाको १६ दिने अभियान कार्यक्रम अन्तर्गत समाजमा हुने हिंसा , यसको कानुनी उपचार लगाएतका विषयमा जानकारी गराईएको थियो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितको अध्यक्षतामा भएको कार्यक्रम उपप्रमुख बाल कुमारी थापाले गर्नु भएको थियो ।  महिला तथा बालबालिका शाखाका प्रमुख पुजा परियारको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका नर्सिङ्ग अधिकृत पुनम धितालले गर्नु भएको थियो ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्