नेकपा (एमाले) का तर्फबाट पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुरप्रसाद गैरेले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । सोमबार रिब्दीकोट गाउँपालिकाको सिरुपातेमा आयोजित एक कार्यक्रमका बीच स्थानीय नागरिकहरूको उपस्थितिमा गैरेले आगामी कार्यकालका लागि आफ्नो मार्गचित्र प्रस्तुत गर्नुभएको हो ।
प्रतिबद्धता पत्र सार्वजनिक गर्दै नेता गैरेले भ्रष्टाचारमुक्त समाज र उत्तरदायी प्रशासन आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभयो । “सुशासन हाम्रो लागि चुनावी नारा वा वाचा मात्र होइन, यो हाम्रो कार्यशैली हुनेछ ।” गैरेले उपस्थित जनसागरलाई सम्बोधन गर्दै भन्नुभयो, “जनताले सरकारी सेवा लिन सास्ती भोग्नुपर्ने अवस्थाको अन्त्य गर्दै पारदर्शी र सुदृढ प्रशासनिक संयन्त्र निर्माणमा मेरो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ ।”
उम्मेदवार गैरेले पाल्पाको समग्र विकासका लागि ९ वटा विशेष क्षेत्रलाई समेटेर आफ्नो योजना अघि सार्नुभएको छ । उहाँले स्थानीय पूर्वाधार विकास र आर्थिक शहरीकरणलाई मुख्य आधार बनाउँदै पाल्पाली सभ्यताको जगेर्ना र पर्यटनलाई अर्थतन्त्रको बलियो स्रोत बनाउने उद्घोष गर्नुभयो । पाल्पाको ऐतिहासिक र सांस्कृतिक पहिचानलाई विश्व बजारमा पु¥याएर पर्यटन अर्थतन्त्र मार्फत समृद्धि हासिल गर्ने उहाँको योजना छ ।
आफ्नो संकल्प पत्रमा गैरेले उद्योग र व्यापारलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा व्याख्या गर्नुभएको छ । स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरूको स्थापना र व्यापारिक सहजीकरणमार्फत आर्थिक आत्मनिर्भरता प्राप्त गर्ने दाबी उहाँको छ । यसैगरी पानी र ऊर्जाको समुचित प्रयोग गर्दै कृषि क्षेत्रमा आमूल रूपान्तरण ल्याई किसानको जीवनस्तर उकास्ने कुरालाई उहाँले विशेष जोड दिनुभएको छ ।
पाल्पालाई शिक्षा, सीप र खेल पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राख्दै उम्मेदवार गैरेले स्वास्थ्य र सामुदायिक कल्याणका लागि गाउँ–गाउँमा गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता जनाउनुभयो । विशेषगरी युवाहरूका लागि सुरक्षित र रोजगारीमुखी पाल्पा निर्माण गर्ने र वन, वातावरण तथा जैविक विविधताको संरक्षण गर्दै दिगो विकासको बाटोमा अघि बढ्ने उहाँको संकल्प छ ।
स्थानीय स्तरमा रिब्दीकोटको विकासका लागि एमाले सधैँ तत्पर रहेको उल्लेख गर्दै उम्मेदवार गैरेले भन्नुभयो, “रिब्दीकोटको माटो र यहाँका जनताको आवश्यकतासँग म परिचित छु, यहाँको पूर्वाधार विकासमा हाम्रो पार्टीले कहिल्यै सम्झौता गर्ने छैन ।” कार्यक्रममा स्थानीय मतदाताहरूले गैरेको योजनाप्रति ऐक्यबद्धता जनाउँदै कार्यान्वयनमा जोड दिएका थिए ।



