पाल्पा क्षेत्र नं. १ : अधुरा योजना पूरा गर्न मेरो उम्मेदवारीः नारायण प्रसाद आचार्य

Facebook
X
WhatsApp
LinkedIn

नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पाल्पा क्षेत्र नं. १ का उम्मेदवार नारायण प्रसाद आचार्यले आफूले सुरु गरेका विकासका अधुरा आयोजनाहरू पूरा गर्न पुनः जनताको साथ आवश्यक रहेको बताउनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घरदैलो अभियानमा व्यस्त रहनुभएका आचार्यले विगतको कार्यकालमा थालनी भएका गौरवका आयोजनाहरूलाई पूर्णता दिनु नै आफ्नो मुख्य संकल्प रहेको स्पष्ट पार्नुभयो ।

“विगत ५ वर्षका लागि चुनिए पनि बीचमा विकसित राजनीतिक परिस्थितिका कारण कतिपय बाचा र कार्यक्रमहरू खण्डित हुन पुगे,“ आचार्यले मतदातासँगको भेटघाटमा भन्नुभयो, “ती अधुरा सपना पूरा गर्न र पाल्पाको समृद्धिको यात्रालाई निष्कर्षमा पु¥याउन मलाई फेरि एकपटक सेवा गर्ने अवसर दिनुहोस्।“

पाल्पाली माटोमै भिजेर राजनीतिमा उदाउनुभएका आचार्यसँग वडाध्यक्षदेखि प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्यसम्मको खारिएको अनुभव छ । उहाँले आफ्नो उम्मेदवारी शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र खानेपानी जस्ता आधारभूत क्षेत्रको सुनिश्चितताका लागि भएको दाबी गर्नुभयो। विशेषगरी महिला र युवा उद्यमशीलताको विकासमा आफूले चालेका कदमहरूलाई तार्किक निष्कर्षमा पु¥याउनु पर्नेमा उहाँको जोड छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहँदा जिल्लाका विभिन्न पालिकामा थालनी गरिएका १५ शैयाका अस्पतालहरूको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको आचार्यले जानकारी दिनुभयो । “पूर्वखोलाको वीरकोट, रम्भाको ताहुँ, माथागढीको झडेवा र निस्दीको मित्यालमा अस्पतालका भवनहरू सम्पन्न हुने क्रममा छन्,“ उहाँले भन्नुभयो, “गाउँपालिका पहुँच मार्गअन्तर्गतका सडक कालोपत्रे र शंकर पोखरेल मुख्यमन्त्री हुँदा सुरु भएका १५ वटा पुल तथा कल्भर्ट निर्माणलाई पूर्णता दिनु मेरो प्राथमिकता हो ।“

२०७२ सालको भूकम्पमा रसुवा पुगेर आवास निर्माणमा श्रमदान गर्नुभएका आचार्यले कोरोना महामारीका समयमा पनि प्रत्येक पालिकालाई व्यक्तिगत रूपमा ३० हजार रुपैयाँ सहयोग गरी जनस्तरमा आफ्नो बलियो उपस्थिति देखाउनुभएको थियो । तीन तहको सरकारबीच समन्वय गर्न सक्ने क्षमता नै आफ्नो बलियो पक्ष रहेको बताउने आचार्य यतिबेला मतदाताका गुनासो सुन्दै र सुझाव संकलन गर्दै घरदैलोमा व्यस्त हुनुहुन्छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्