कर्मचारीलाई धम्की दिनेमाथि पाल्पाका लेखाका कर्मचारीद्धारा कारवाहीको माग

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकामा कार्यरत केही कर्मचारीलाई दुर्व्यवहार र ज्यान मार्ने धम्की दिएको विषयमा स्थानीय तह आर्थिक प्रशासन शाखामा कार्यरत कर्मचारीहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले एक विज्ञप्ति निकाल्दै पालिकाको काममा अहोरात्र खटिएकै अवस्थामा प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत तथा लेखापाल कर्मचारीमाथि गत असार २७ गते भएको दुर्व्यवहार र धम्कीप्रति गम्भिर ध्यानाकर्षण भएको बताएका हुन् ।

उनीहरुले धम्की दिनेलाई कारवाही गर्न समेत माग गरेका छन् । धम्की दिनेलाई कारवाही गरेर सुरक्षाको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई जिल्लाका स्थानीय तहका आर्थिक प्रशासन शाखामा कार्यरत कर्मचारीहरुले आग्रह गरेका हुन् । उनीहरुले कार्यस्थलमा आफूहरू असुरक्षित हुनुपरेको समेत उल्लेख गरेका छन् । जनप्रतिनिधिसमेतले समस्या निराकरणका लागि प्रभावकारी भूमिका नखेल्दा स्थानीय तह आर्थिक प्रशासन शाखामा कार्यरत कर्मचारी त्रसित र असुरक्षित भएको उनीहरूको भनाइ छ ।

‘कार्यस्थलमा काम गरिरहेका कर्मचारीहरुको सुरक्षा समेतको दायित्व हुने जनप्रतिनीधि समेतले समस्या निराकरणका लागि प्रभावकारी भूूमिका खेल्नुपर्नेमा सो नभई यस्तो घटना हुनुले स्थानीय तह आर्थिक प्रशासन शाखामा कार्यरत हामी सम्पुर्ण कर्मचारीहरु त्रसित तथा असुरक्षित महशुस गरेका छौं’ विज्ञप्तिमा भनिएको छ ।  आर्थिक अनुशासन तथा वित्तीय सुशासन कायम गर्नुपर्ने जिम्मेवारी जनप्रतिनीधि समेत भएको उनीहरुले बताएका छन् ।

आर्थिक वर्षको अन्त्यमा योजना सम्पन्न हुँदा समेत कर्मचारीले भुक्तानी नदिएको भन्दै उपभोक्ताहरूले कर्मचारी माथि दाउरा प्रहारको प्रयास गर्नुको साथै अभद्र व्यवहार गरेको भिडियो समेत बाहिरिएको थियो । कर्मचारीले सुत्र प्रणालीमा देखिएको समस्याका कारण समयमा भुक्तानी हुन नसकेको र सुत्र चल्नसाथ काम हुने बताउँदै प्रतिकार गर्न खोजे पनि त्यहाँ पुगेका केही व्यक्तिहरुले लेखा अधिकृतसहितका कर्मचारी माथि दाउरा प्रहार गर्ने प्रयास गरेका थिए । केही दिन अघि पीडित कर्मचारीहरुले जनप्रतिनिधिहरुबाट नै सुरक्षाको अनुुभूति नभएपछि जिल्ला प्रशासन कार्यालय पाल्पामा शान्ति सुरक्षाको माग समेत गरेका थिए ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्