May 2, 2024

पाल्पा \

रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले याे कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको हाे ।

याे कार्यक्रम साउन १ गतेदेखि नै लागू भएकाे गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले जानकारी दिनुभयो । बैंकमा खाता खोली जम्मा गरिने याे रकम २० वर्षसम्म झिक्न पाइने छैन । ‘छोरी जन्मिँदा परिवारमा खुशियाली ल्याउन तथा छोरीमा लगानी बढाउन यस्तो कार्यक्रम अघि सारेका हौँ’, उपाध्यक्ष डाँगीले भन्नुभयो । छोरीलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक हिसाबले सक्षम बनाउका लागि याे कार्यक्रम अघि बढाएको उहाँको भनाइ छ ।

कार्यक्रमबाट बालविवाह रोक्नसमेत मद्दत पुग्ने डाँगीको विश्वास छ । याे कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा १० लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारसँगको साझेदारीमा याे कार्यक्रम ल्याएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *