जनहितमा काम गरेको आधारमा पुनः एक पटक अवसर दिन मतदातासँग उम्मेदवार आचार्यको आग्रह

Facebook
X
WhatsApp
LinkedIn

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट पाल्पा क्षेत्र नं. १ का उम्मेदवार तथा निर्वतमान् प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यले आफ्नो कार्यकालमा कानून निर्माण र स्थानीय विकासमा सक्रिय भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

उहाँले संघीय निजामती सेवा विधेयक, २०८० मा ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा देखिएको जालझेलबारे गठन गरिएको संसदीय छानबिन विशेष समितिको सदस्यका रूपमा काम गर्दै महत्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभयो । समितिले पेश गरेको प्रतिवेदनले भविष्यका लागि मार्गनिर्देशन गर्ने विश्वास उहाँको छ । साथै, सबै सरकारी निकायका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने विषय सदनमा उठाएको पनि उहाँले स्मरण गर्नुभयो ।

प्रतिनिधि सभाको अर्थ समितिका सदस्य रहँदा आचार्यले विषयगत समितिहरूमा सक्रिय सहभागिता जनाउँदै विधेयकहरूको सैद्धान्तिक छलफलमा स्पष्ट धारणा राख्ने सांसदका रूपमा पहिचान बनाएको दाबी गर्नुभयो । नागरिकको हितलाई केन्द्रमा राखेर कानून निर्माण गर्नुपर्नेमा आफू दृढ रहेको उहाँको भनाइ छ ।

निर्वाचन प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रममा व्यस्त उम्मेदवार आचार्यले विगतमा जनहितमा काम गरेको आधारमा पुनः एक पटक अवसर दिन मतदातासँग आग्रह गर्नुभएको छ । २०७९ सालको निर्वाचनमा ३१ हजार १ सय ३ मतसहित विजयी बन्नुभएका उहाँले यसपटक पनि जनताको साथ पाउने विश्वास व्यक्त गर्नुभयो ।

तानसेनको अमरनारायण गुठीको जग्गामा बसोबास गर्ने नागरिकहरूको समस्या समाधानका लागि कानूनी पहल गरेको उल्लेख गर्दै उहाँले रानीमहल संरक्षणका विषयमा पनि अध्ययन प्रतिवेदनका आधारमा सम्बन्धित निकायसँग छलफल अघि बढाएको बताउनुभयो । रानीमहलको रेट्रोफिटिङ, नदी कटान नियन्त्रण र पहिरो व्यवस्थापनका विषयलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ छ ।

स्थानीय रोजगारी प्रवद्र्धनका लागि पूर्वखोला–ढोलीमारा, रम्भा–रानीबास होमस्टे प्रवद्र्धन, निस्दी क्षेत्रमा अम्लिसो, गेडागुडी तथा अदुवा बिक्रीमा सहजीकरण तथा पूर्वाधार विकासमा पहल गरिएको दाबी गर्दै  उहाँले कालीगण्डकी नदी क्षेत्रमा निर्माणाधीन अर्सेदी, गेझा र दामाचौर सडकपुल समयमै सम्पन्न गराउन पटक–पटक अनुगमन र सहजीकरण गरिएको जानकारी गराउनुभयो ।

उम्मेदवार आचार्यले प्रतिनिधिसभा सदस्यको मुख्य जिम्मेवारी कानून निर्माण, संसदीय अनुगमन र सुनुवाइ भएको उल्लेख गर्दै यी क्षेत्रमा आफ्नो भूमिका प्रभावकारी रहेको बताउनुभएको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्