विकास र समृद्धिकाे एजेण्डासहित ठाकुर गैरे मतदाताकाे घरदैलाेमा

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा क्षेत्र नं. २ का नेकपा एमालेका उम्मेदवार ठाकुर प्रसाद गैरेले विकासका अधुरा काम पूरा गर्ने र कृषिमा आधुनिकीकरण ल्याउने प्रतिबद्धताका साथ आफ्नो चुनावी अभियानलाई तीव्र पार्नुभएको छ । अभियानकै क्रममा रिब्दीकोट गाउँपालिका–८ को फेक र सोमहर पुग्नुभएका नेता गैरेले स्थानीयको उत्साहजनक साथले एमालेको जित सुनिश्चित भइसकेको दाबी गर्नुभयो ।


घरदैलोका क्रममा गैरेले बतासे–सोमहर–फेक मोटरबाटो स्तरोन्नति भई पिच भइरहेको जानकारी दिँदै यसले स्थानीयको जीवनस्तरमा परिवर्तन ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो, “बाटो पिच भएपछि यहाँका नागरिकलाई आवतजावतमा मात्र होइन, कृषि उत्पादनलाई बजारसम्म पु¥याउन ठूलो राहत मिल्नेछ ।”

त्यसैगरी, तिनाउ र रिब्दीकोट गाउँपालिका जोड्ने डेडुखोला पुलको निर्माण कार्य पनि द्रुत गतिमा अघि बढेको छ । उक्त पुल र सडक निर्माण सम्पन्न भएपछि पश्चिम पाल्पाका नागरिकहरूलाई बुटवल झर्न निकै छोटो र सहज हुने उहाँको भनाइ छ । फेक क्षेत्र टिमुर खेतीको लागि प्रचुर सम्भावना भएको क्षेत्र मानिन्छ । यसलाई मध्यनजर गर्दै गैरेले आगामी कार्यकालमा यस क्षेत्रलाई व्यवसायिक टिमुर खेती पकेट क्षेत्र का रूपमा विकास गर्ने योजना अघि सार्नुभयो ।

सोमहरमा भइरहेको पशुपालन र तरकारी खेतीको प्रशंसा गर्दै उहाँले भन्नुभयो । “हामीले सोमहरको पशुपालन र तरकारी खेतीलाई थप आधुनिक बनाउन स्थानीयसँग सहकार्य गरिरहेका छौँ । अबको लक्ष्य निर्वाहमुखी खेती मात्र होइन, यहाँको उत्पादनलाई राष्ट्रिय बजारमा पु¥याउने हो ।” यहाँका किसानहरु पशुपालन, मौरीपालन र तरकारी खेतिमा आत्मनिर्भर भएको भन्दै गैरेले बजारीकरणमा थप सहजिकरण गर्ने बताउनुभयो ।

चुनावी घरदैलोमा देखिएको जनलहरले पाल्पा क्षेत्र नं. २ मा एमालेको विजयलाई कसैले रोक्न नसक्ने गैरेको जिकिर छ । “फेक र सोमहरका नागरिकले नेकपा एमालेलाई सधैं माया र विश्वास गर्दै आउनुभएको छ ।” उहाँले थप्नुभयो, “अहिलेको उत्साहले हाम्रो जित निश्चित भएको छ, यो जित विकास र समृद्धिको जित हुनेछ ।”

एमालेको यो अभियानले स्थानीय स्तरमा विकासका मुद्दाहरूलाई सतहमा ल्याइदिएको छ, जसका कारण मतदाताहरू विकासप्रेमी उम्मेदवारको पक्षमा उभिने देखिएका छन् ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्