तानसेन। ११ फागुन ।
नेपाली कम्युनिष्ट पार्टी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेद्वार हुम बहादुर सुनारी मगरले चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । उम्मेद्वार सुनारीले तानसनेमा पत्रकार सम्मेलन गरेर आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो। उम्मेद्वार सुनारी मगरले प्रतिबद्धता सार्वजनिक गर्दै पूर्वी पाल्पाको समग्र विकासका लागि खाका तयार गरेको जनाउँनुभयो । मगरले आफू निर्वाचन भएमा आदीवासी जनजातिका बहुल्यता रहेको क्षेत्र भएका कारण घरेलु मदिरा (तीनपाने रक्सी) लाई गर्नका ब्रान्डिङ्ग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, पाल्पामा प्रसिद्ध तीनपाने रक्सीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गरी स्थानीय उत्पादनलाई आर्थिक समृद्धिको आधार बनाउने योजना रहेको छ ।

“तीनपाने रकसी हाम्रो पहिचान हो, यसलाई व्यवस्थित उत्पादन, गुणस्तर मापदण्ड र बजार विस्तारमार्फत रोजगारी र आम्दानीसँग जोड्नेछौं,” उहाँले भननुभयो । उम्मेद्वार सुनारीले रामपुरलाई पर्यटकीय शहर बनाउने, आर्यभञ्ज्याङ्ग ताहँु रामपुर सडक खण्डलाई स्तरउन्नति गर्ने, कृषि, पशुपालन र पर्यटन पूर्वाधार निर्माण गर्ने लगायतका योजना आफूले राखेको बताउनुभयो । उम्मेद्वार सुनारीले कालिगण्डकी डाइभर्सन रोक्न आफू प्रतिबद्ध भएको बताउनुभयो । कालीगण्डकी हाम्रो सभ्यता बोकेको सम्पदा हो, हामीले कालीगण्डकीलाई डाइभर्सन गरेर होइन्, यसको सभ्यतालाई संरक्षण गरेर स्थानीयको आयआर्जनसंग जोड्नका लागि योजना बनाएको छु । कालीगण्डकीको सभ्यता जोगाउँदै हुँगीमा ड्याम बनाएर विद्युत उत्पादन गर्ने योजना बनाएको छु । उहाँले भन्नुभयो । पत्रकारसंगको छलफलमा उम्मेद्वार सुनारीले पूर्वी पाल्पाको पहिचान, कृषि उत्पादन र प्राकृतिक स्रोत संरक्षणलाई प्राथमिकतामा राखेर चुनावी अभियान अघि बढाएको स्पष्ट पार्नुभयो ।
उम्मेद्वार सुनारीले ग्रामीण सडकको स्तरउन्नति, स्थानीय पूर्वाधार विकास, युवालाई रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा पर्यटन प्रबर्द्धनलाई पनि प्राथमिकता दिने बताउनुभयो। पाल्पा–१ मा विकास र संरक्षण सँगसँगै लैजान आफ्नो उम्मेदवारी रहेको उहाँले बताउनुभयो ।
सुनारीले जनताको अधिकार, स्थानीय स्रोतको संरक्षण र पहिचानको प्रवर्द्धनमार्फत समृद्ध पाल्पा निर्माण गर्ने लक्ष्यसहित चुनावी अभियान तीव्र पारेको बताउनुभएको छ ।



