पाल्पा क्षेत्र नं. २ : पाल्पाको विकास नै मेरो मुख्य लक्ष्य :उम्मेदवार गैरे

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा ।

नेकपा एमाले पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार ठाकुरप्रसाद गैरेले पाल्पाको समग्र विकास र अधुरा योजनालाई पूर्णता दिन आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा बुधबार रूपन्देही निर्वाचन परिचालन सम्पर्क कमिटीले आयोजना गरेको मतदाता भेटघाट तथा अन्तरसंवाद कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो ।

निर्वतमान सांसदसमेत रहनुभएका गैरेले पाल्पाली जनताको हितका लागि आफू जस्तोसुकै अवस्थामा पनि समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो कार्यकालमा सुरु भएका ठूला परियोजनाहरू सम्पन्न गर्न सूर्य चिह्नमा मतदान गरी विजयी गराउन आग्रह गर्नुभयो ।

आगामी आर्थिक वर्षभित्रै सिद्धबाबा सुरुङमार्गबाट सर्वसाधारणले सुरक्षित यात्रा गर्न पाउने दाबी गर्दै उहाँले भन्नुभयो, “हार्थोक–छहरा मोटरबाटोका लागि बजेट सुनिश्चित भइसकेको र रिडीदेखि रानीमहलसम्मको बाटो पिच भैसकेकोलेराम्दीदेखि रानीमहलसम्मको सडकका लागि १ अर्ब ४८ करोड बजेट विनियोजन भई काम तीव्र गतिमा भइरहेको छ ।“यसबाहेक उहाँले तानसेनको खानेपानी समस्या समाधान, ऐतिहासिक भगवती मन्दिर निर्माण र पर्यटकीय क्षेत्रको विकासलाई आफ्नो प्राथमिकतामा राखेको बताउनुभयो । विशेषगरी कुसुमखोला, पालुङ्ग मैनादी, पेलाबास र अमलाबास समेटिएको ’छहरा सुन्तला कोरिडोर’ निर्माणको कामलाई पूर्णता दिन एमालेको जित आवश्यक रहेको उम्मेदवार गैरेको भनाइ थियो ।

कमिटीका संयोजक रामचन्द्र बस्यालले समग्र पाल्पाको विकासमा नेकपा एमालेको भूमिक महत्वपूर्ण रहेकोले रुपन्देहीलाई कर्मथलो बनाइ बसोबास गर्ने एमालेका शुभेच्छुकहरु आआफ्नो स्थानबाट एमाले जिताउने अभियान चलाएर समृद्ध पाल्पा निर्माण सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमाले रुपन्देहीका जिल्ला सदस्य तथा युवा नेता बाबुराम बोहोराले जीविको पार्जनका लागि पाल्पाबाट बुटवल आएरर पनि विभिन्न तहबाट पार्टीलाई साथ र सहयोग रहेको भन्दै जन्मभूमि फर्कन चाहने उद्योगी व्यवसायीलाई सिद्धबाबा सुरुङ्गमार्ग निर्माण भएसंगै छोटो दूरीले सहज पुग्ने बताउँदै त्यसका लागि एमालेलाई बिजयी बनाउन आग्रह गर्नु भयो ।कार्यक्रममा पाल्पा क्षेत्र नं. २ बाट समानुपातिक उम्मेदवार ठानेश्वर बस्याल , संविधान सभा सदस्य नारायणी शर्मा, पार्टी पाल्पा क्षेत्र नं. २ का अनुगमन तथा निर्देशन कमिटीका संयोजक धनेन्द्रराज घिमिरेलगायतको उपस्तिथि रहेको थियो ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्