नेकपा एमालेका तर्फबाट पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ठाकुरप्रसाद गैरे रिब्दीकोट गाउँपालिकाका विभिन्न वडामा पुगेर मतदातासँगको भेटघाट र सुझाव संकलनमा व्यस्त रहनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी उहाँले आफ्नो चुनावी अभियानलाई तीव्र पार्नुभएको हो ।

रिब्दीकोटको ख्याहा,देउरालीलगायत क्षेत्रका मतदातासँग प्रत्यक्ष संवाद गर्दै उम्मेदवार गैरेले यस क्षेत्रको कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य र सडक पूर्वाधार, खानेपानीको क्षेत्रमा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यस क्षेत्रको सुन्ताला खेतीको विकास र विस्तारलाई मध्यनजर गरी पहिलो पटक संसदमा पुग्दा सुन्तलालाई राष्ट्रिय फल घोषणाका लागि आवाज उठाएको जानकारी गराउनुभयो । यस्तैगरी नव पुस्ताको आन्दोलन र युवाहरूका एजेन्डामा आफू विगतदेखि नै निरन्तर संघर्ष गर्दै आएको स्मरण गराउँदै ती मुद्धाहरूको पूर्ण कार्यान्वयनका लागि एमालेको नेतृत्व आवश्यक रहेको उम्मेदवार गैरेको भनाइ थियो ।

देशमा राजनीतिक स्थिरता र विकासका योजनाहरू सफल पार्न नेकपा एमालेको स्पष्ट बहुमत हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “मैले सधैँ पाल्पाको विकास र राष्ट्रियताको पक्षमा आवाज उठाउँदै आएको छु, ती एजेन्डाहरूलाई तार्किक निष्कर्षमा पु¥याउन यस पटक सूर्य चिन्हमा मतदान गरी मलाई र एमाले उम्मेदवारहरूलाई विजयी गराउनुहुनेछ भन्ने विश्वास छ।“

आफू पहिलो पटक संसदमा पुगेर जनसेवा र विकासका कामलाई गति दिने क्रममा ३१ महिनामै पुनः निर्वाचनको सामना गर्नुपरेको उल्लेख गर्दै उहाँले बाँकी रहेका अधुरा कामहरू पूरा गर्न आफूलाई पुनः एक पटक मतदान गरी संसदमा पठाउन आग्रह गर्नुभयो । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवार गैरेले आफ्नो क्षेत्रका टोल–टोलमा पुगेर मत माग्ने र स्थानीयका समस्या सुन्ने कार्यलाई तीव्रता दिनुभएको उहाँले बताउनुभएको छ ।



