पाल्पा, पुष २७ ।
सुनिल कार्की ।
३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पाल्पामा नेपाली सेनाले बजार परिक्रमा गरि बृहत झाँकी प्रर्दशनी गरेको छ । सैनिक–नागरिक सम्बन्ध सुमधुर बनाउन र राष्ट्रिय एकतालाई अझ बलियो बनाउने उद्देश्यसहित नेपालका विभिन्न जातजाति, संस्कृति, रहनसहन र भेषभूषा झल्काउने झाँकी प्रस्तुति गरिएको थियो ।
पछिल्लो समय कमजोर बन्दै गएको राष्ट्रिय एकतालाई थप बलियो बनाउन नेपाली सेना र नागरिको सहभागिता पाल्पामा ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भब्यताका साथ मनाइएको छ । जिल्ला स्थित नेपाली सेना दि फेमस महेन्द्र दल गणको आयोजनामा सैनिक नागरिक सम्बन्ध सुमुधुर बनाउने उद्धेश्य सहित विभिन्न भेषभूषामा सजिएर झाँकी प्रर्दशन गरिएको दि फेमस महेन्द्र दल गणका गणपति प्रमुख सेनानी शान्त कुमार थापाले बताउनुभयो । नेपाली सेनाका सकलदर्जा, पदिक, अधिकृतका साथै स्थानिय नागरिकहरुको स्वस्फूत सहभागितामा नेपालका विभिन्न जातजाति, कलासंस्कृति, रहनसहन र भेषभूषामा सजिएर सदरमुकाम तानसेन बजार परिक्रममा गरिएको थियो । नागपोखरी ब्यारेकबाट निस्केको नेपाली सेनाको टोली पञ्चेबाजा सहित नाचगान गर्दै बसपार्क, क्याम्पस रोड, रणउजेश्वरी भगवती मन्दिर, निशान भगवती, पाल्पा दरबार संग्राहलय, श्री ७ अमरनारायण मन्दिर परिक्रम गरि पुन ब्यारेक घर फर्कीएर झाँकी बिर्सजन गरिएको गणका सुबेदार प्रमुख जयप्रकाश बानियाँले जानकारी दिनुभयो ।
झाँकी प्रर्दशनी कार्यक्रममा पृथ्वी नारायण शाहकै भेषमा सजिएर उहाँकै झल्को मेटाउने प्रयास नेपाली सेनाले गरेको थियो । साथै शाहाको सम्मान स्वरुप फोटो फ्रेम सहित स्थानिय नागरिकको समेत उल्लेख्य सहभागिता थियो । साथै राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेनाले बृहत फोटो प्रर्दशनी समेत गरेको छ । नेपाली सेनाले नियमित गर्दै आएका गतिविधि, राष्ट्रिय गौरबका आयोजना, शान्ति मिसन स्थापनार्थ बाह्य मुलकमा खटि गएका टोलीले गरेका कार्यसम्पादन झल्कीने तस्बीरका साथै गणले विभिन्न कालखण्डमा गरेका ऐतिहासिक देखि प्राप्त गरेका सम्मान र पुरष्कारहरु समेत फोटो प्रर्दशनीमा राखिएका थिए ।
राष्ट्रिय एकता र गौरवका प्रतीक पृथ्वी नारायण शाहको सम्झनामा गरिएको यो बृहत झाँकी प्रर्दशनीले — विविधतामा एकता र नेपालीपनको सन्देश फैलाएको छ भने राष्ट्र नायक पृथ्वी नारायण शाहप्रति श्रद्धा व्यक्त गर्दै नेपालीपनको सन्देश पुनः उजागर गरेको छ




