पालिका स्तरीय द्रुत प्रतिकार्य समिति र द्रुत प्रतिकार्य टोली सम्बन्धी पैरवी कार्यक्रम रामपुर नगरपालिकामा सम्पन्न भएको छ । विश्व स्वास्थ्य संगठन, नेपालको आयोजना र रामपुर नगरपालिकाको समन्वयमा बुधबार पैरवी कार्यक्रम भएको हो ।

कार्यक्रममा नगरपालिका भित्र सम्भावित स्वास्थ्यजन्य विपद् र यसको न्यूनीकरण तथा व्यवस्थापनका विषयमा अभिमुखिकरण प्रदान गरिएको थियो । स्वास्थ्यजन्य विपद्को समयमा द्रुत प्रतिकार्य समिति र द्रुत प्रतिकार्य टोलीको भूमिका, काम, कर्तव्य र अधिकारका विषयमा छलफल भएको थियो । नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका उपप्रमुख तथा कार्यवाहक नगर प्रमुख बाल कुमारी थापाले नगरपालिका भित्र हुन सक्ने सम्भावित विपद्लाई न्यूनीकरण र यसको प्रकोप फैलिन नदिन सबै सचेत भई एक भएर लाग्नु पर्ने बताउनुभयो । उहाँले पछिल्लो केही वर्षयता रामपुरमा कालाजार रोगका विरामीको संख्या बढ्दो रहेकाले यसबाट बच्नका लागि सचेतना संगै अभियान सञ्चालन गर्नु पर्ने आवश्यकता औँल्याउनुभयो ।

साथै कालाजार रोगको शंका लाग्ने विरामी फेला परेमा तत्काल जाँच गरि उपचारका लागि सिफारिस गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो । उपप्रमुख थापाले रामपुर नगरपालिकालाई कालाजार रोगमुक्त गर्नका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने बताउनु भएको छ । थापाले विपद् न्यूनीकरण र विपद् पश्चात व्यवस्थापनका लागि पालिका स्तरमा रहेको द्रुत प्रतिकार्य समिति र टोली दुवैले महत्वका साथ काम गर्नु पर्नेमा जोड दिनुभयो ।
यस्तै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले विगतको समयमा भएका स्वास्थ्यजन्य विपद्को अनुभव बाट सिकेर भविष्यमा हुन सक्ने विपद्लाई रोक्न सचेतना सहित सबै तयारी अवस्थामा रहनु पर्ने बताउनुभयो । उहाँले हरेक विपद् मानविय स्वास्थ्य संग जोडिने भन्दै सर्वसाधारण जनतालाई सचेत बनाउन विभिन्न शिविर तथा अभियान सञ्चालन गर्न सके महामारी र विपद्बाट बच्न सकिने बताउनुभयो ।

रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले हरेक विपद्को समयमा मानविय सहायताका लागि स्वास्थ्यकर्मीको नै मुख्य भूमिका रहने भएकाले सक्रियताका साथ लाग्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा स्वास्थ्यजन्य विपद्को समयमा गर्नु पर्ने काम ,रोकथाम तथा न्यूनीकरण , पूर्व तयारी, पुनस्थापना कार्य , विपद् जोखिमको नक्साङ्कन, कानुनी व्यवस्था, द्रुत प्रतिकार्य समिति र टोलीको आवश्यकता लगायतका विषमा सहजिकरण गरिएको थियो ।
रामपुर नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको पैरवी कार्यक्रमको सहजिकरण विश्व स्वस्थ्य संगठन नेपालका फिल्ड मेडिकल अफिसर डा. गौरव डंगोल र जिल्ला स्वस्थ्य कार्यालय पाल्पाका मधुसुधन भट्टराईले गर्नु भएको थियो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितको अध्यक्षतामा भएको कार्यक्रम कार्यबहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले गर्नु भएको थियो ।



