पाल्पा, रामपुर अंग्रेजी आवासीय माध्यमिक विद्यालय रामपुर–५ पाल्पाले अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिताको उपाधी जितेको छ । रामपुर नगरपालिका– ७, किसानबारीमा शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा दरैठाँटी माध्यमिक विद्यालय रामपुर –६ लाई पराजित गर्दै उपाधि चुम्न सफल भएको हो ।

फाइनल खेलमा दरैठाँटी मावि माथि १–० को जित निकाल्दै रामपुर आवासीय प्रतियोगिताको च्याम्पियन बनेको छ । दरैठाँटी मावि उपविजेता बनेको छ । खेलको पहिलो हाफमा दुवै टिमले एक अर्कालाई निकै दबाबमा राखेपनि खेल गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा चिराजन मल्लले गोल गर्दै रामपुर अंग्रेजी आवासीयलाई अग्रता दिलाएका थिए । अन्तत चिराजनले हानेको गोल नै खेलको निर्णायक बन्न पुगेको हो ।

प्रतियोगिताको विजेतालाई नगद ३० हजार रुपैयाँ र उपविजेतालाई नगद २० हजार रुपैयाँ सहित ट्रफी, मेडल, प्रमाण पत्र र प्रेरणादायी पुस्तक प्रदान गरिएको छ । साथै सेफिाइनलिष्ट टिम आधारभूत मावि र आनन्द निकेतन विद्याश्रमले नगद ८/८ हजार प्राप्त गरेको छ । प्रतियोगिता अवधिभरमा उत्कृष्ट खेलाडी रामपुर अंग्रेजी आवासीयका सन्देश राना घोषित हुनु भएको छ । उत्कृष्ट डिफेण्डर दरैठाँटी माविका विशन चौवे, सर्वाधिक गोलकर्ता आनन्द निकेटन विद्याश्रमका रोहित विश्वकर्मा र उत्कृष्ट गोल रक्षक रामपुर अंग्रेजी आवासीयका संगम विक भएको खेल संयोजक केशवराज श्रेष्ठले जानकारी दिनुभयो ।
विजेता टिमलाई एक कार्यक्रमका विच पुरस्कार प्रदान गरिएको थियो । रामपुर फुटबल एकेडेमीका अध्यक्ष अनिल शाही ठकुरीको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणको प्रमुख आतिथ्यतामा भएको थियो । विजेता टिमलाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथी खाँणले प्रतियोगिताले विद्यार्थीको प्रतिभा पहिचान संगै उनीहरुलाई सिप सिक्ने अवसर प्रदान गरेको बताउनुभयो । प्रतियोगिताले नयाँ बाल प्रतिभाहरुमा देखिएको खुशीले थप उत्साह जगाएको बताउनुभयो । उहाँले खेलकुद क्षेत्रको उत्थानका लागि नगरपालिकाले थप कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

रामपुर नगरपालिकाको संरक्षणमा भएका प्रतियोगितामा रामपुर नगरपालिका र चापाकोट नगरपालिका भित्रका १७ माध्यमिक विद्यालयले सहभागिता जनाएको थियो ।



