जेनजी आन्दोलनपछिको केही महिनाको शान्त वातावरणपछि लुम्बिनीमा पुनः पर्यटकको चहलपहल बढ्न थालेको छ । धार्मिक, सांस्कृतिक र आन्तरिक पर्यटन विस्तारले लुम्बिनी फेरि पनि नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा सक्रिय बन्दै गएको संकेत गरेको छ ।
जेनजी आन्दोलनका कारण केही समय सुस्ताएको लुम्बिनीको पर्यटन विस्तारै पुनः लयमा फर्किन थालेको छ । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पछिल्लो समय भारतीयसहित विभिन्न मुलुकका पर्यटकहरूको आगमन उल्लेख्य रुपमा बढ्न थालेको लुम्बिनी विकास कोषले जनाएको छ । कोषका अनुसार अहिले दैनिक झण्डै १० हजार आन्तरिक र करिब ५ सयजति विदेशी पर्यटक लुम्बिनी आउने गरेका छन् । भारत, सार्क देशहरू र युरोपका विभिन्न राष्ट्रबाट धार्मिक तथा घुमन्ते पर्यटक लुम्बिनी भ्रमणका लागि आइरहेका छन । शान्तिका दूत भगवान बुद्धको जन्मभूमि लुम्बिनीमा पछिल्ला राजनीतिक अस्थिरता र उथलपुथलबीच आध्यात्मिक सन्तुलन खोज्ने उद्देश्यले समेत धार्मिक पर्यटक आउने गरेका छन । लुम्बिनीमा आउनेहरूमा धार्मिक, अध्ययनशील तथा घुमन्ते पर्यटक सबैको सहभागिता देखिन्छ । धार्मिक तथा आध्यात्मिक पर्यटक बुद्धको जन्मस्थलको दर्शन गर्न आउँछन् भने अन्य पर्यटकहरू यहाँको प्राकृतिक सौन्दर्य र शान्त वातावरणमा रमाउन आउने गरेका छन ।
विभिन्न प्रदेशका विद्यालय र क्याम्पसहरूले पनि लुम्बिनीलाई शैक्षिक भ्रमणको प्रमुख गन्तव्यका रूपमा रोज्ने क्रम बढेको छ । विद्यार्थी मात्र होइन, आम नागरिक र विदेशी पर्यटक दुवैको संख्यामा निरन्तर वृद्धि हुँदै गएको कोषले जनाएको छ । लुम्बिनी विकास कोषका सदस्य सिद्धचरण भट्टराईका अनुसार, सुस्ताएको पर्यटन गतिविधि अहिले पुनः गतिशील बन्दै गएको छ । कोरोनापछि मानिसहरूमा सिर्जना भएको तनाव र निराशा हटाउन लुम्बिनी भ्रमण फलदायी र आत्मिक शान्तिको माध्यम बनेको छ ।
 
					 
															 
								 
         
							 
							 
							 
							 
								 
															 
															 
								 
								 
								 
															 
															 
															 
								 
															 
								



