पाल्पा \
रामपुर नगरपालिका स्वास्थ्य शाखाले वार्षिक समीक्षा गरेको छ । नगरपालिका भित्रका १६ वटा स्वास्थ्य संस्था, रामपुर अस्पताल र स्वास्थ्य शाखाबाट आर्थिक वर्ष २०८१/०८२ मा सम्पादन गरेका कामको समीक्षा गरेको हो । कार्यक्रममा स्वास्थ्य संस्था र शाखाले एक वर्षको अवधिमा संञ्चालन गरेका कार्यक्रम र प्रदान गरेका सेवाको समीक्षा गरेको छ ।
कार्यक्रममा भौतिक अवस्था ,खा अवस्था,पाेषण कार्यक्रम ,गर्भवती महिलाको अवस्था र पाेषण,विभिन्न औषधीको उपलब्धता र वितरण , मातृ तथा नवशिशुको स्वास्थ्य अवस्था लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रममा सहभागीले भौतिक संरचनामा सुधार गर्न आवश्यक रहेको र केही बालबालिका र शिशुमा कडा कुपोषण फेला परेकोले यसको न्यूनीकरणका लागि ध्यान दिनु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले समुदायमा आधारित रहेर स्वास्थ्य सेवा प्रवाह गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले गाउँका असहाय असक्त र वृद्धवृद्धाका लागि घरघरमै पुगेर सेवा दिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनु भएको छ । समुदाय बेसमा रहेर सहज स्वास्थ्य सेवा प्रदान गर्न सके मात्र सेवा प्रभावकारी हुने बताउनुभयो । साथै पछिल्लो केही वर्ष यता सर्ने रोग भन्दा नसर्ने रोगका विरामीको संख्यामा वृद्धि हुनु चिन्ताको विषय भएको भन्दै यसमा गम्भीर हुन आवश्यक रहेको बताउनु भएको छ ।अव्यवस्थित खानपान र जिवनयापनका कारण नसर्ने रोग लागेका विरामीको संख्यामा बृद्धि भएको भन्दै यसका लागि सबै स्वास्थ्यकर्मीहरुले समुदायस्तरमा सचेतना फैलाउन आग्रह समेत गर्नुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका क्षयरोग तथा खोप अधिकृत विश्वनाथ न्यौपानेले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले उपचारात्मक भन्दा प्रबर्द्धनात्मक स्वास्थ्य सेवा दिन आवश्यक रहेको बताउनुभयो । साथै सेवाको गुणस्तरमा ध्यान दिनु पर्ने भन्दै जनप्रतिनिधि र सरोकारवालाको ध्यान पुग्न जरुरी रहेको उल्लेख गर्नुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितको अध्यक्षतामा भएको समीक्षा कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन नर्सिङ अधिकृट्ट पुनम धितालले गर्नु भएको थियो ।नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा रामपुर नगरपालिका भित्रका १६ वटा स्वास्थ्य संस्थाका प्रमुख,रामपुर अस्पताल र स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।