पाल्पा, असोज १४ ।
सुनिल कार्की \
नेपाली सेना ‘दि फेमस महेन्द्र गण’ पाल्पाले सदरमुकाम तानसेनको टुडीखेलमा लिंगे पिङ निर्माण गरी सञ्चालनमा ल्याएको छ ।
गणका सकल दर्जाको टोलीले तानसेन नगरपालिका सहितको सहकार्यमा पिङ निर्माण गरेको हो । लिंगे पिङको उद्घाटन तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले गर्नुभयो । उद्घाटन समारोहमा उहाँले पिङ संस्कृतिको संरक्षणमा नेपाली सेनाले गरेको योगदानको प्रशंसा गर्दै सहकार्य गर्ने अवसर दिएकोमा नगरपालिकाले आभार प्रकट गरेको बताउनुभयो ।
लिंगे पिङ सञ्चालनमा आएपछि टुडीखेल परिसरमा चहलपहल बढेको छ भने स्थानीय बासिन्दा तथा बालबालिका पिङमा मच्चिदै रमाइलो गर्न थालेका छन । कुनै समय गाउँ–गाउँमा देखिने लिंगे पिङ आजभोली हराउँदै गएको अवस्थामा यसको पुनःस्थापना सांस्कृतिक संरक्षणको दृष्टिले महत्वपूर्ण मानिएको छ ।
कार्यक्रममा नेपाली सेना दि फेमस महेन्द्र दल गणका गणपति प्रमुख सेनानी शान्तकुमार थापाले सैनिक–नागरिक सम्बन्ध मजबुत बनाउन तथा हराउँदै गएको पिङ संस्कृतिको संरक्षण र जर्गेनाका लागि यो कदम चालेको जानकारी दिनुभयो ।
पिङ उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी विनु कुवँर बज्राचार्य, सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी, प्रशासकीय अधिकृत रमा श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, वडा नं १ का अध्यक्ष सुनिल बस्याल लगायतको सहभागिता रहेको थियो ।