सुनिल कार्की ।
पहाडी भूगोलको पाखा पखेरा र बारीका कान्लामा आफै उम्रने प्रकृतिक फल काफल केही वर्ष अघिसम्म बेच्न सजिलो थिएन । काफलसँग अन्न, गहुँ, मकै, चामलसित बराबरीमा साट्नुपर्ने बाध्यता थियो, नगद हातपर्ने सम्भावना त निकै कम तर अहिले आफ्नै टोल, घरबाट गाडीमै बसेर तानसेन–बुटवल जस्ता शहरमा काफल जान थालेपछि स्थानियले मनग्य आम्दनी गर्न थालेका छन ।
जिल्लाको माथागढी गाउँपालिका ४ देवगिरका ६० वर्षीय भिम बहादुर दर्लामीले एक महिना सम्म काफल बिक्री गरेर वर्ष दिन सम्म पुग्ने गरि परिवारका लागि अन्नको जोहो गरेको धेरै समय भयो । दर्लामीसँगै गाउँका अधिकांश परिवारका लागि आर्थिक गर्जे टार्ने मुख्य माध्यम बनेको छ काफल । चैतको पहिलो हप्तादेखि जेठ मध्यसम्म बिहान बेलुका घर नजिकैका काफलका रुखबाट काफल टिप्यो अनि नजिकैको पसलमा लगेर विक्रि गर्दा दैनिक एक हजार देखि दुई हजारसम्म कमाई हुने गरेको छ ।
गाउँ बस्तीलाई सडक सञ्जालले जोडेपछि पाल्पाको माथागढीबासीको मात्र नभई जिल्लाको रिब्दीकोट, रैनादेवी छहरा, तानसेन नगरपालिकाका भित्रका गाउँ गाउँका हजारौं घरपरिवारका लागि आम्दानीको बलियो माध्यम बनेको छ काफल । वन जंगलदेखि बारीका कान्लामा प्रकृतिक रुपमा उम्रिएका काफल यतिखेर यस क्षेत्रका लागि मुख्य नगदेबाली नै भएको स्थानीयको भनाई छ ।
गाउँका स्थानीय व्यापारीले नै संकलन गरी बुटवल, तानसेन जस्ता ठूला बजारमा मात्र नभई मुर्गिया, सुनवल बर्दघाटका बजारसम्म दैनिक जसो जान थालेपछि यसको महत्व बढ्दै गएको छ । पहाडका गाउँ गाउँका उत्पादन तराईका चोक चोकसम्म पुग्न थालेपछि यहाँका स्थानीयहरुको काफल आम्दानीको बलियो माध्यम बनेको देवगिरका बालकृष्ण न्यौपाने बताउनुहुन्छ ।
जिल्लाको माथागढी गाउँपालिकालाई काफलको पकेट क्षेत्र भनेर घोषणा गरेको तीन वर्ष भन्दा बढी भयो । तर पकेट क्षेत्रको घोषणा गरेको नाममा केही केहीलाई काफल संकलन गर्नको लागि क्यारेट वितरण गर्नु बाहेक पकेट क्षेत्रको नाम र भाषणमा मात्र सिमीत हुन पुगेको स्थानीय गुनासो छ फलस्वरुप काफल खेतिलाई विस्तार गरि विमाको व्यवास्था गर्न स्थानियले माग राखेका छन ।