माथागढीका शिक्षकलाई राहत : सुत्केरी विदामा सट्टा शिक्षक राख्ने गाउँपालिकाको तयारी

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,सुनिल कार्की \
पाल्पाको माथागढी गाउँपालिका भित्रका शिक्षकलाई अब भने राहत हुने भएको छ । माथागढीले महिला शिक्षकले सुत्केरी विदा लिएको समयमा सट्टा शिक्षक व्यवस्थापन गर्ने तयारी गरेको हो ।


गाउँपालिकाद्धारा सार्वजानिक आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रममा महिला शिक्षकले सुत्केरी विदा लिएको समयमा सट्टा शिक्षक राखिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद घिमिरेले बताउनुभयो । घिमिरेले गाउँपालिकाले प्राथमिकताका साथ महिला शिक्षकको सहजताका लागि यो कार्यक्रम ल्याएको बताउनुभयो । सुत्केरी महिला शिक्षकले पाउने ९८ दिनको विदामा विद्यार्थीको पढाई नबिग्रियोस भनेर सट्टा शिक्षक व्यवस्थापन गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले जानकारी दिनुभयो ।

माथागढी गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ६३ करोड ७४ लाख ९२ हजार ८ सय ५४ रुपैंयाको अनुमानीत आयव्यय प्रस्तुत गरेको छ । जसमा चालु तर्फ ४३ करोड ८९ लाख ९२ हजार ८ सय ५४ रुपैँया र पुँजीगत तर्फ १९ करोड ८५ लाख रहेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षमा राजश्व मार्फत १ करोड ६४ लाख ४५ हजार रुपैंया आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको छ ।

गाउँपालिकाले सामाजिक विकासतर्फको शिक्षा क्षेत्रमा ३ करोड ५८ लाख, स्वास्थ्यतर्फ २ करोड ७१ लाख, खानेपानीतर्फ १० लाख, लक्षित वर्ग, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरणतर्फ १० लाख, यूवा तथा खेलकुदतर्फ २३ लाख, कृषि तथा पशुपंक्षी विकासतर्फ १ करोड ६७ लाख ५० हजार, उद्योग, नवप्रवर्तन तथा उद्यमशिलता विकास र रोजगार प्रवद्र्धन कार्यक्रमतर्फ आवश्यक बजेट, सडक तथा यातायात र भवन तथा आवास सहित पुर्वाधार तर्फ १० करोड, विपद व्यवस्थापन, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा आवश्यक बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले आकस्मिक रुपमा आईपर्ने विभिन्न विपदहरुको सामना गर्न र राहतका लागि ५० लाख रुपैँयाको विपद् व्यवस्थापन कोष व्यवस्थापन गरेको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्