काँडाघारी भुईँभरि लरबरी, पाखा उजाडै भए,
धानका खेत बाँझै, खहरहरु छन्, पानीका मूलै गए।
हाँसीखेली बसेका कति घर अब, शून्य नै छन् कतै,
यो गाउँ नै कुरूपै भयो, विरही भो, सम्झेरै मन रुन्छ है।।१
छोराछोरी सहरमै सुखमय भयो, फर्कने छैनन् अब,
पैसा ठूलो भयो रे, सहर सजिलो, गाउँमै छैन भव।
आफन्तीले भुलेझैँ, मनभरि चिरा, पीडा दिन्छन् हरे,
आफ्नै थलो बिरालो, मुसाहरु बसी, दुःख दिन्छन् धेरै।।२
पानी पर्दा निदाएझैँ छ कलिलो, माटो पनि सुक्खै छ,
गोठै खाली, बलेँसी चुहिने भयो, भत्किने डरै छ।
गाउँले बाटा बिरालो, कुकुरहररू छन्, मान्छे छैनन् कतै,
यो गाउँ नै रित्तियो, किन फर्किएनौँ, सम्झेरै मन रुन्छ है।।३
आयो दसैँ, तिहारै, सहरतिरका, मान्छे फर्केनन् कोही,
गाउँकै बुढाबुढीले, मनभरि पीर, सम्झिएका छन् रोइ।
छोडेरै यो घरबारी, किन गयौँ भनी, सोच्दछन् ती अझै,
आफ्नै धर्ती बिरायो, नफर्किने भई, सम्झेरै मन रुन्छ है।।४
शान्तै थियो कुनै बेला, मनभरि खुसी, गाउँले बाटा थिए,
पारी खेतमा लाग्थ्यो, हर हर हलो, गीत नै गुञ्जिथे।
आजै खाली भए रे, मनभरि चिरा, पीडा दिन्छन् हरे,
यो गाउँ नै विरानै भयो, विरही भो, सम्झेरै मन रुन्छ है।।५
शोभा कडरिया कोइराला