पाल्पा, वैशाख १७ ।
सुनिल कार्की ।
पाल्पाको तानसेनमा पहिलो पटक ‘विद्यालयमा आधारित विपद् जोखिम न्यूनिकरण स्रोत केन्द्र’ सञ्चालनमा ल्याइने भएको छ ।
तानसेन नगरपालिका र विभिन्न दातृ निकायको सहयोगमा तानसेन ३ भगवतीटोलस्थित पद्यम पव्लिक माध्यमिक विद्यालयमा केन्द्र सञ्चालन गर्न लागिएको हो । केन्द्र सञ्चालनका लागि त्रिपक्षीय सम्झौता भएको छ । तानसेन नगरपालिका, डिजास्टर एजुकेशन प्रोमोशन अफिस ललितपुर र सिनेट प्लस आर्टस सेन्टर फर क्रियाटिभ पार्टनरसिप डिजाइन एण्ड क्रियाटिभ सेन्टर, कोवे जापानबिच केन्द्र सञ्चालनका लागि सम्झौता भएको हो । विपद्का घटनाहरु घट्न नदिन र घटी हाले त्यसबाट हुने क्षति कम गर्ने उद्देश्यले विद्यालयमा विपद् जोखिम न्यूनिकरण स्रोत केन्द्र सञ्चालन हुन लागेको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।
जसका लागि पहिलो पक्षको तर्फबाट तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, दोस्रो पक्षकोतर्फबाट डिजास्टर एजुकेशन प्रोमोशनका अध्यक्ष दीपक मरहठ्ठा र सनेट प्लस आर्टस् सेन्टर फर क्रियाटिभ पार्टनरसिप डिजाइन एण्ड क्रियाटिभ सेन्टरका कार्यकारी निर्देशक केन्द्रा हिराटाबिच भर्चुअल प्रविधिमार्फत २३ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
विपद्जन्य घटनाको उच्च जोखिम रहेको तानसेनलाई केही हदसम्म न्यूनिकरण गर्न स्रोत केन्द्रले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।