सुनिल कार्की ।
गएर राति देखि परेको मुसलधारे वर्षाको कारण अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तरर्गत पाल्पा –बुटवल खण्ड केहीबेर अघिबाट सञ्चालनमा आएको छ ।
पाल्पा बुटवल खडको तिनाउ गाउँपालिका ५ कालिमाटी क्षेत्रमा खसेको पहिरो सडक डिभिजनको हेभि इकुपमेन्टको सहयोगमा हटाएसँगै सडक दुईतर्फी नै सञ्चालनमा आएको हो । हिजो राति परेको अविरल बर्षाले यो सडक खड करिब ४ घण्टा अवरुद्ध भएको बनेको थियो । सडक ठप्प हुँदा गुल्मी, बाग्लुङ्ग, स्याङ्गजा र पोखराबाट आएका बस तथा साना सवारी तानसेनको गौडेपुल क्षेत्रमा रोकिएका थिए भने बुटवल, काठमाण्डौं, भैरहवा, कपिलवस्तु र नेपालगन्जबाट पोखरा,स्याङ्गजा र गुल्मी जिल्लाका लागि छुटेका सयौं सवारी केराबारी,पानि मिल लगायतका ठाउँमा रोकिएका थिए । केही हप्ता अघि भासिएको हिउँदे खोला क्षेत्रमा भने सडक समस्या नरहेको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम सापकोटाले जानकारी दिनुभयो ।
पाल्पा बुटवल खण्डको दर्जनबाढी क्षेत्रमा पहिरो र सडक भासिने जोखिम रहेकोले सर्तकता अपनाएर मात्र यात्रा गर्न पाल्पाका प्रहरी प्रमुख नरेन्द्र चन्दले आग्रह गर्नुभएको छ ।
पाल्पा बुटवल खण्डमा हल्का वर्षा हुन साथ जाने पहिरोले सडक अवरुद्ध हुँदा सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने हजारौं यात्रु बर्खाको समयमा भने सास्ती भोग्न बाध्य छन ।