सनिल कार्की \
पाल्पामा तीन दिन देखिको अविरल बर्षाले विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन ।
जिल्लामा हिजोराती देखीनै विद्युत सेवा अवरुद्ध हुँदा स्थानिय रातभर अन्धकारमा बसेको गुनासो गरेका छन । जिल्लाको तिनाउ गाउँपालिकाको बसन्तपुर देखी बुटवल तर्फ जाने जंगलमा विद्युतका पोलहरु ढलेपछी पाल्पा आउने प्रशारण लाईन अवरुद्ध बनेको हो ।
नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रका प्रमुख ईन्जिनियर दिलिप मरासिनीका अनुसार उक्त स्थानमा ६ वटा पोलहरु ढलेर विद्युत अवरुद्ध भएको जानकारी दिनुभयो । मौसम अनुकुल भई बर्षा रोकिए आज बेलुकासम्म र सम्भव नभए भोली सोमबार दिउँसोसम्म जिल्लाभरको विद्युत समस्या समाधान हुने प्रमुख मरासिनीले बताउनुभयो । जिल्लामा आउने वैकल्पिक रिडि हाइड्रोपावरको प्रशारण लाइनमा समेत समस्या हुँदा सेवाग्रही थप मर्कामा परेका छन । विद्युत सेवा अवरुद्ध हुँदा जिल्लाको दश वटै पालिकाका ८१ वटै वडाका सेवाग्राही विजुली उपभोगबाट बञ्चित भएका जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
विद्युत सेवा अवरुद्ध हुँदा कालीगण्डी लिफ्टीङ्ग खानेपानि, भुल्के र सिस्नेको खानेपानि आपुर्तिमा समस्या भएको छ भने मोबाइल, टेलिफोन, टर्चलाइट उपभोग गर्नबाट समेत नपाएको गुनासो गरेका छन । जिल्लामा विद्युत सेवा अवरुद्ध हुँदा यहाँका स्थानियको जनजिवन कष्टकर बनेको मानव अधिकारवादीको भनाई छ ।