पाल्पा,चैत्र २५ ।
सुनिल कार्की ।
पछिल्लो समय दिनप्रतिदिन खस्कदो सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागि पाल्पाको बगनासकालिमा शैक्षिक सुधारमुलक अन्तरक्रिया गरिएको छ । गाउँपालिकाको ९ वटै वडाका ३० भन्दा बढी सामुदायिक विद्यालयका प्राधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको उपस्थितिमा कार्यक्रम भएको हो । कार्यक्रममा शिक्षा शाखा प्रमुख गुनाराम खनालले गाउँ पालिकाको शिक्षाको अवस्था र सम्भावना र चुनौति सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख टंकनाथ खनालले विकासको पक्ष भौतिक विकास र मानव विकास भएकोले भौतिक विकास भन्दा पनि मानव विकास अझ महत्वपूर्ण हुने बताउनुभयो ।
बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले शिक्षा क्षेत्र बहुआयामिक भएकोले यसको विकासका निम्ती सर्वपक्षिय चासो जरुरी रहेको राय व्यक्त गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालल आगामी दिनमा कार्ययोजनालाई मूर्तरुप दिन विद्यालय क्षेत्र सुधार कार्ययोजना निर्माण र यसको कार्यान्वयन पहिलो आवश्यकता रहेको बताउनुभएको थियो ।
कार्यक्रममा नेकपा एमालेका ढकेश्वर बस्याल, नेपाली काग्रेसका माधव नेपाल, नेकपा माओवादी केन्द्रका खुमबहादुर विक, मोहन थापा, टीकबहादुर थापा, दयाराज कंडेल, टुनवीर रेश्मी, डोलराज बस्याल, डिल्लीराज गैरे, पुस्पादेवी थापा, गोपीकृष्ण देवकोटा, चोपलाल गिरी, नेत्र गैरे लगाएतले शैक्षिक सुधारका निम्ती आवश्यक सुझाव दिनुभएको थियो । उक्त कार्यक्रमको सहजीकरण शिक्षाविद्ध बालकृष्ण गैरेले गर्नुभएको थियो ।