पाल्पा, जेठ ०६ ।
सुनिल कार्की \
पाल्पाको सदरमुकाम तानसेन मा एक दिने सडक खाना महोत्सव आयोजना हुने भएको छ ।
“सडकमै खाऔं, सडकमै रमाऔं, स्थानीय खानाको प्रवर्द्धन गरौं” भन्ने मूल नारासहित आगामी जेठ १६ गते तानसेनको टुँडिखेलदेखि नारायणस्थानसम्मको सडक क्षेत्रमा महोत्सव सञ्चालन गरिने भएको हो । महोत्सवमा करिब ५० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ ।तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वडा नं. ६ का वडा अध्यक्ष सागरमान महर्जनले लोप हुँदै गएका परिकारको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले बजेट विनियोजन गरी महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो ।
भिमसेन टोल विकास संस्था को आयोजनामा हुने महोत्सवबारे संस्थाका अध्यक्ष प्रकाशमान गंगोलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक वर्ष आयोजना हुँदै आएको महोत्सवमा यस वर्ष रैथाने नेवारी, मगरी, मुस्लिम तथा बाह्मण समुदायका परम्परागत खानाका परिकार राखिनेछन् । महोत्सवका संयोजक सुशन कुमार बज्राचार्यले पछिल्लो पुस्ताले नदेखेका र नचाखेका परम्परागत खानालाई नयाँ पुस्तामाझ परिचित गराउँदै संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
सडक खाना महोत्सव सम्बन्धी पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पाल्पा का अध्यक्ष कमलराज तिमिल्सिना, टोल विकास संस्थाकी उपाध्यक्ष पुतलीदेवी शाक्य, ज्ञानमाला संघ आनन्द विहारका सल्लाहकार सरोजलाल शाक्यलगायतले महोत्सवबाट हुने आम्दानी सामाजिक सेवामा उपयोग गर्न सके अझ प्रभावकारी हुने धारणा राख्नुभयो ।



