पाल्पामा अजिङ्गर र किङ कोब्राको त्रास, बस्तीमा सर्प देखिन थाले

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा, जेठ ०६ ।
सुनिल कार्की \
लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पा मा डरलाग्दा, भयानक तथा विषालु प्रजातिका सर्पहरू देखिन थालेपछि स्थानीयवासीमा त्रास बढेको छ ।
चिडियाघर र श्रव्यदृश्यमा मात्र देखिने अजिङ्गर र किङ कोब्रा जस्ता सर्पहरू अहिले जिल्लाका राजमार्ग र बस्ती क्षेत्रमा देखिन थालेको डिभिजन वन कार्यालय पाल्पा ले जनाएको छ ।

 

डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी खिल बहादुर तामाङ्गका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल खण्डको तिनाउ गाउँपालिका स्थित गिट्टीखानी, दोभान, भुम्सा र केराबारी क्षेत्रमा केही सातायता ठूलो अजिङ्गर देखिन थालेको छ । यस्तै तानसेन आसपासका कालीगण्डकी नदी किनारका अर्गली, कुसेनी, रिडी, छेर्लुङ, बगनासकाली गाउँपालिकाको यम्घा, दर्पुक, बोटेगाउँ, राम्दी, हुँगी तथा रामपुर क्षेत्रका बस्तीमा समेत किङ कोब्रा देखिएको जानकारी कार्यालयले दिएको छ । यसअघि कमै देखिने भिमकाय तथा विषालु सर्पहरू पछिल्लो समय छ्यापछ्याप्ती देखिन थालेपछि स्थानीयमा डर र त्रास बढेको छ । सर्प उद्धारकर्ता शंकर पाण्डे को सहयोगमा जिल्लाका विभिन्न स्थानबाट सर्प उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिँदै आएको छ । तर दक्ष जनशक्तिको अभाव, दुर्गम भौगोलिक अवस्था, सूचना तथा सञ्चारको कमीका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको जनाइएको छ ।

 

सर्पको प्राकृतिक तथा पारिस्थितिक महत्वबारे पर्याप्त बुझाइ नहुँदा सर्प मार्ने प्रवृत्ति बढेको भन्दै सरोकारवालाले जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन् ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्