बुटवल, वैशाख ०६ ।
बुटवलको बुद्धनगर बस्ने पाल्पाकी एक युवतीमाथि गोली प्रहार भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–११ बुद्धनगर बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको छ ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका घर भई हाल बुटवल ११ बुद्धनगर बस्ने विष्टमाथि गोली प्रहार भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताउनुभयो । उहाँको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गोलि लगेर घाईते विष्टको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उहाँ माथि कसले के कारणले गोली प्रहार गरेको हो भन्ने अझै नखुलेको इप्रका बुटवलका प्रमुख डीएसपी रानाले बताउनुभयो ।स्थानीयका अनुसार विष्टको केही दिनअघि एकजना भारतीयसँग विवाद भएकाले घटनामा उनै भारतीयको संलग्नताको आशंका गरिएको छ ।
घटनास्थलमा पुगेर गोली प्रहारमा संलग्नको खोजी र अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।