राइड सेयरिङ जस्तै ढुवानी सेवा, ‘टिम भरिया’ एप सुरू

Facebook
X
WhatsApp
LinkedIn

काठमाडौँ \

ढुवानी क्षेत्रलाई डिजिटल माध्यमबाट सहज बनाउन ‘टिम भरिया’ एप सार्वजनिक गरिएको छ। टिम भरिया इन्क प्रालिले विकसित गरेको यो एप सामान ढुवानी प्रक्रियालाई सरल र व्यवस्थित बनाउन लक्षित गरिएको छ।

 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कमल फुँयालका अनुसार ‘टिम भरिया’ एप राइड सेयरिङ एपहरू पठाओ र इन्ड्राइभ जस्तै विशेषतासहित ल्याइएको हो। उनले ढुवानी साधनहरूले भोग्दै आएको समस्यालाई समाधान गर्ने उद्देश्यले एप विकसित गरिएको जानकारी दिए। फुँयालले भने, “हाल ट्रक वा अन्य गाडीहरूले सामान ढुवानीका लागि ट्रान्सपोर्ट कम्पनीहरूमा गएर कुरिरहनुपर्ने अवस्था छ। त्यस्तै, कम्पनी वा सप्लायर्सले ट्रान्सपोर्टरलाई सामान लोडिङ गर्न अनुरोध गर्दा पनि सहज रूपमा उपलब्ध हुन सक्दैनन्। यी समस्याहरू हटाउन एप ल्याइएको हो।” अब ‘टिम भरिया’ एपमार्फत कम्पनी वा सप्लायर्सले पठाउनुपर्ने सामानको विवरण प्रविष्ट गर्न सक्नेछन् ।

 

राइडरहरूले उक्त विवरण हेरेर भाडा स्वीकार गर्न वा आवश्यक परेमा समायोजन गर्न सक्नेछन्। एपमा तीन प्रकारका साइनअप विकल्पहरू छन् – ‘आई एम ड्राइभर’, ‘आई एम कार्गो’, र ‘आई एम ट्रान्सपोटर’। साथै, एपमा डोमेस्टिक र लङ रुट गरी दुई फरक क्याटेगोरीमा गाडीहरू उपलब्ध छन्।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्