पाल्पा,कात्तिक ३० ।
सुनिल कार्की ।
पुर्वी पाल्पाको रामपुरमा चौंथो रामपुर महोत्सव, कृषि प्रदर्शनी एवं व्यापार मेला हुने भएको छ ।
जिल्लाको रामपुर उद्योग वाणिज्य संघले चौथो संस्करणको रामपुर महोत्सव माघ १५ देखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको हो । संघले घरेलु तथा कुटिर उद्योग र कृषि क्षेत्रको प्रवर्धन, स्थानीय उत्पादनको बजारीकरण, पर्यटकीय स्थलको प्रचार प्रसार, मौलिक कला संस्कृतिको पनि जगेर्ना र संघको निर्माणाधीन भवनलाई पूर्णता दिन महोत्सव गर्न लागिएको जनाएको छ । पत्रकार सम्मेलनमार्फत महोत्सवको मिति सार्वजनिक गर्दै रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले १३ दिनसम्म सञ्चालन हुने यस पटकको महोत्सव रामपुर उपत्यकामा ठूला लगानी कसरी भित्र्याउन सकिन्छ भन्नेमा केन्द्रित रहने बताउनुभयो ।
यस पटकको महोत्सवले उद्योग व्यवसायलाई चलायमान गराउनु, स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्धनसँगै रामपुरमा ठूला लगानीकर्तालाई कसरी आकर्षित गर्ने भन्नेमा केन्द्रित हुने अपेक्षा उद्योगी व्यवसायिले गरेका छन ।