स्याङ्जामा उत्पादन हुन थाल्यो आधिखोला ब्राण्डको सुन्तलाबाट बनाईएको वाईन.

Facebook
X
WhatsApp
LinkedIn

वालिङ,
२१ साउन ।
स्याङ्जामा सुन्तलाबाट वाईन बनाउन शुरु गरिएको छ । रसिला सुन्तलाले प्रख्यात स्याङ्जामा अब सुन्तलाबाट बनेको वाइन पनि उपभोक्ताले प्राप्त गर्नेछन् । सुन्तलाको जुस, जाम क्यान्डी खाँदै आएका उपभोक्ताले अव सुन्तलाको स्वादमा वाईन पनि खान पाउनेछन् । स्याङ्जामा सुन्तलाको वाईन सफल रुपमा परिक्षण भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत सुन्तला सुपरजोन स्याङ्जाको सहयोगमा जिल्लामा सुन्तलाबाट आँधीखोला वाईन उत्पादन शुरु गरिएको हो । सुन्तलाको विविधिकरणका लागी सुन्तलाको वाईन उत्पादन थालिएकोे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाईका प्रमुख माधव लम्सालले बताउनुभयो । स्याङ्जामा सुन्तला धेरै उत्पादन हुने र सुन्तलालाई बजारीकरण र प्रशोधनमा सहयोग गर्ने उद्देश्यले सुन्तला ताजा मात्रै नभई प्रशोधन गरी उत्पादनलाई विविधता ल्याउनका लागी वाईन उत्पादन शुरु गरिएको लम्सालले बताउनुभयो ।

प्रमुख लम्सालले भन्नुभयो ‘उत्पादन बढ्दै जाँदा यसको दिर्घकालिन बजारीकरणका समस्या समाधान गर्दै स्थानीय स्रोत साधनको उपयोग गरी रोजगारी अभिवृद्धि गर्ने हाम्रो उद्देश्य हो ।’ सुन्तला र आँधीखोला स्याङ्जाको पहिचान भएकाले वाईनको नामाकरण जिल्लाकै पहिचानसंग जोडेर गरीएको र राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा यसको बजारीकरण गर्न सकियो भने जिल्लाको पहिचानलाई पनि थप टेवा पुग्ने प्रमुख लम्सालको भनाई छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई अन्र्तगतको सुन्तला सुपरजोनमा उत्पादनसंगै प्रशोधन गर्ने उद्योगसंग जोड्ने पनि प्रावधान भएकाले उक्त प्रावधानलाई पछ्याउँदै वाइन उत्पादनको लागी आर्थिक तथा प्राविधिक सहयोग सुपरजोनले गरेको हो ।

स्याङ्जाको पुतलीबजार नगरपालिका –११ करेन्डाँडामा सुन्तला प्रशोधन घर प्रालि मार्फत यो वाईनको उत्पादन शुरु गरिएको हो । सुन्तला प्रशोधन घर प्रालिमा जिल्लाका युवाहरुको संयुक्त लगानी छ । यो वाईन अहिले सफल परिक्षण गरिएको र अबको सुन्तला पाक्ने सिजनबाट बजारमा पनि आईपुग्ने प्रमुख लम्सालले बताउनुभयो । अन्तशुल्कबाट स्वीकृत लिएर बजारमा विक्रिका लागी आउने भन्दै नेपालभरी र नेपाल बाहिर पनि मागको आधारमा आँधीखोला वाईन ल्याईने उहाँले बताउनुभयो ।

सुन्तला सुपरजोनका रूपमा जिल्लाको चिनारी अब्बल बनाउन र यहाँको सुन्तलाको गुणस्तरीयतालाई प्रचारप्रसार गर्न स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी ब्रान्डिङ गर्ने उद्देश्यले सुन्तलाको वाईन बनाउन थालिएको हो । विगत ३ वर्षदेखि नै सुन्तलाबाट बनेका उत्पादनहरु ल्याउने उद्देश्यले अगाडि बढेको भन्दै यो अवधिमा सुन्तला सुपरजोनले ४० लाख लगानी गरिसकेको र अन्य प्रालिका संचालकहरुले समेत लगानी गरेको प्रमुख लम्सालले बताउनुभयो । उक्त वाईनमा ११ प्रतिशत अल्कोहलको मात्रा हुनेछ भने सुन्तलाको स्वाद हुनेछ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्