पाल्पा,असार २३ ।
सुनिल कार्की ।
पाल्पा जिल्लाको माथागढी गाउँपालिकामा अविरल वर्षासँगै खोलामा आएको बाढीले बगाएर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको माथागढी गाउँपालिका–६, गोठादीको ६८ वर्षीय रिमासरा रानाको रहवास स्थित चिर्तुङखोलाले खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बेलुकी पख कामको सिलसिलामा गोठादीको सातपोखरी गएर माहिलाचौर फर्कने क्रममा रानालाई खोलाले बगाएर बेपत्ता भएको र खोजतलास गर्ने क्रममा राति ११ बजे ५ सय मिटर टाढा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । खोलाले बगाएको जानकारी पाएसँगै स्थानीयवासी र प्रहरीको खोजतलासमा खटिएका थिए ।
यस्तै वर्षासँगै चिसोले कठ्याङ्ग्रिएर जिल्लाको तानसेन नगरपालिका–५ कैलाशनगरमा ४२ वर्षीय शेरबहादुर विकको मृत्यु भएको छ । मादकपदार्थ सेवन गरेर चिसोमै लडेका उनको कठ्याङ्ग्रिएर मृत्यु भएको वडा अध्यक्ष रामबहादुर रावलले जानकारी दिनुभयो । दुई दिन लगातार वर्षा हुँदा पाल्पाको कुमाल गाउँमा सबैभन्दा बढि बर्षा भएको थियो । जसका कारण जिल्लाका विभिन्न ठाउँका दर्जन बढी घरमा भौतिक क्षति पु¥र्याएको छ भने हजार रोपनी रोपाइ गरेका खेत डुबानमा पर्नुका साथै खोलाले कटान समेत गरेको छ ।