महानगरपालिकाले प्रत्येक शुक्रबार सरसफाइ अभियान सञ्चालन गर्ने

Facebook
X
WhatsApp
LinkedIn

काठमाडाैं । विराटनगर महानगरपालिकाले प्रदेश स्वच्छ, सुन्दर र सफा राख्ने उद्देश्यसहित हरेक शुक्रबार सरसफाइ विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

महानगर क्षेत्रलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र गरी तीन भागमा बाँडेर सरसफाइ विशेष अभियान सञ्चालन गरिने महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिनुभयो ।

आज बसेको बैठकले हरेक शुक्रबार बिहान ७ देखि साढे ८ बजेसम्म सफाइ अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो । “कुनै पनि ठाउँको पहिचान भनेको सफाइ न सुन्दरता नै हो”, प्रमुख कोइरालाले भन्नुभयो, “बाहिरबाट आउने पर्यटकले झट्ट हेर्दा सहरमा जताततै फोहर देखे भने उनीहरूमा नकारात्मक प्रभाव पर्छ, फोहर भनेको सहरको सभ्यतासँग पनि जोडिएको हुन्छ, त्यसो भएकाले महानगर सफाइ विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेका हौँ ।”

महानगरको विकास र समृद्धिका लागि आफूहरू योजनाबद्धरूपमा लागिरहेको उहाँको भनाइ थियो । मन्दिर, मस्जिद र सार्वजनिकस्थलमा भीख माग्ने, फुटपाथ खाली गर्ने, छाडा चौपाया नियन्त्रण गर्ने अभियानलाई पनि तीव्रता दिएको बताइएको छ ।

“हामी निर्वाचित भएर आएको भर्खर तीन महिना भएको छ, यो बीचमा धेरै कुरा बुझ्नै लाग्यो”, प्रमुख कोइरालाले भन्नुभयो, “आउनेबित्तिकै हामीले महानगरका सबै नाला सफा ग¥यौँ, जसले गर्दा यसपटकको वर्षामा डुबान समस्या कम भयो, यससँगै फुटपाथ खाली गर्ने, छाडा चौपाया नियन्त्रण गर्ने कार्यलाई तीव्रता दिएका छौँ ।”

महानगर उपप्रमुख शिल्पा निराला कार्कीले विकास निर्माणसँगै सामान्यभन्दा सामान्य विषयलाई पनि ध्यान दिएर काम गरिरहेको बताउनुभयो । महानगरले सुरु गर्ने सरसफाइ विशेष अभियानमा महानगरवासीलाई समेत सहभागी हुन उहाँले आग्रह गर्नुभयो ।

यसैबीच रथयात्रालाई ध्यानमा राखेर शनिबार मेनरोडको सफाइ गरिएको छ । महानगरका प्रमुख कोइरालाको नेतृत्वमा तीनपैनी चोकबाट सफाइ गरिएको थियो । सरसफाइमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइराला, वडा नं १ का वडाध्यक्ष काजी बस्नेत, २ का अध्यक्ष कुमार पोखरेललगायतको सहभागिता रहेको थियो ।

यसअघि मोरङका प्रमुख जिल्ला अधिकारी दाहालको नेतृत्वमा प्रत्येक शनिबार बिहान नगर क्षेत्र सरसफाइ अभियान सञ्चालनमा रहेको छ । प्रमुख जिल्ला अधिकारी दाहालको नेतृत्वमा प्रहरी प्रमुख, राष्ट्रसेवक कर्मचारी, समाजसेवीलगयात विभित्र सङ्घसंस्थाका प्रतिनिधिको यो काममा सहभागी भई सहयोग गर्दै आएका छन् । विराटनगरमा केही सयमदेखि बजारभित्र फोहरको चाप घटेको र नगरको सफाइ भएको पाइएको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्