May 2, 2024

पाल्पा,असोज १३ ।
सुनिल कार्की  \
सुरक्षित गर्भपतन सेवाको सचेतनामुलक प्रशिक्षण विद्यार्थी देखि विद्यालय तहसम्म पुग्न नसकेको पाल्पाका विद्यार्थी देखि सरोकारवाल दुखेसो पोखेका छन । निकट भविष्यमा सम्भावित असुरक्षित गर्भपतनको दरमा कमी ल्याई जोखिमको न्यूनिकरण गर्न सकिने बलियो सम्भावना हुने भएपनि अहिलेसम्म पनि विद्यालय तहमा सुरक्षित गर्भपतनको कार्यक्रम पुग्न नसकेको हो । पाल्पाका सामुदायिक देखि निजि विद्यालयमा सुरक्षित गर्भपतन विषयक प्रशिक्षणका कार्यक्रम नै हुन नसकेको विद्यार्थीले गुनासो गर्ने गरेका छन । नेपालको संविधान २०७२ मा स्वास्थ्यको अधिकार महल भित्र स्पष्ट रुपमा सुरक्षित गर्भपतन सेवाको बारेमा जानकारी लिन पाउने अधिकारी उल्लेख गरिए पनि विद्यालय तहका विद्यार्थी भने अझै पनि स्व अध्ययन गरेर जानकारी लिनुपर्ने बाध्यतामा परेका हुन ।
जिल्लाको पूर्वखोला गाउँपालिका १ सिलुवाको भवानी माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने वर्ष १८ की ब्यवस्थापन संकायकी विद्यार्थी सुलोचना श्रेष्ठले कक्षा ६ देखि यही विद्यालयमा अध्ययनरत हुनुहुन्छ तर विद्यालय जिवनको करिब ७ वर्षको अन्तरालमा अहिलेसम्म आफुले गर्भपतनका सवालमा जिज्ञास राख्न नपाएको गुनासो गर्नुभयो । गर्भपनका बारेमा आफुलाई केही जिज्ञास सहितको प्रश्न राख्न धेरै पहिले देखि चाहे पनि अहिलेसम्म सो अवसर नपाएको बताउनुभयो । घरमा विहेको बारेमा कुरा आइराखेको छ । मैले कक्षा १२ को परिक्षा दिएपछि मात्र गर्ने भनेर बुबाआमालाई सम्झाएकी छु तर मैले अहिलेसम्म सुरक्षित गर्भपतनको बारेमा के कस्ता कानुन,अधिकार र प्रक्रिया छन भन्ने थाहा पाएकी छैन । कहिले काँही दुख लाग्छ । म गाउँमा जन्म नलिएर शहर बजारमा लिएको भएर केही भए पनि थाहा पाउने थिएकी झै लाग्छ , उहाँ बताउनुहुन्छ ।
यता जिल्लाको तानसेन नगरपालिका ५ बन्दिपोखरामा अवस्थित लक्ष्मी माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत वर्ष १५ का विद्यार्थी शुलभ विष्टका अनुसार गर्भपतनका बारेमा अहिले सम्म आफु पढेको विद्यालयमा स्वास्थ्य शिक्षा पढाउने शिक्षक देखि अन्य कुनै पनि संघ संस्थाले विद्यालयस्तरमा गर्भपतनका विषयमा जानकारी दिने उद्धेश्यले कार्यक्रम आयोजना नभएको बताउनुभयो ।

विद्यार्थीले राखेको जिज्ञासका बारेमा हामीले लक्ष्मी माध्यमिक विद्यालयका प्रधानध्यापक विष्णु प्रसाद सिग्देललाई सोधेका थिएयौं । के यथार्थमै विद्यालयमा सुरक्षित गर्भपताका बारेमा सन्देशमुलक कार्यक्रम आयोजना नभएकै हो भन्ने प्रशनमा । विद्यालयका प्रधानध्यापक विष्णु प्रसाद सिग्देलले कार्यक्रम हुन नसकेको स्वीकार गर्नुभयो । सुरक्षित गर्भपतनको सचेतनामुलक कार्यक्रम विद्यालयतहमा आयोजना गरिदिन स्वास्थ्य कार्यालय पाल्पा, नेपाल परिवार नियोजन संघ पाल्पा शाखा र स्थानिय निकाय तानसेन नगरपालिकाको स्वास्थ्य शाखालाई पत्रचार गरेर आग्रह गर्दा पनि कार्यक्रम सञ्चालन हुन नसकेको बताउनुभयो । विद्यालयका स्वास्थ्य तथा शारिरिक शिक्षाका विषयगत शिक्षकले पाठ्यक्रममा भएको किशोर अवस्थामा आइपर्ने समस्या,असुरक्षित यौनसम्पर्क र परिवार नियोजनका स्थायी अस्थायी साधनको बारेमा पढाउने गरेपनि गर्भपनतका बारेमा कक्षा दिन नसकेको बताउनुभयो ।

यता सरोकारवाला निकाय स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले भने सुरक्षित गर्भपतनका बारेमा प्रशिक्षणमुलक कार्यक्रम गर्न बजेट र कार्यक्रम दुबै नभएकाले गर्न नसकिएको बताउनुभयो । यो खालको कार्यक्रम स्थानिय तहले जिल्लाका सम्बन्धीत निकाय परिवार नियोजन सघ, जस्ता सरकारी एव गैरसकारी निकायसँगको समन्वयमा गर्न आवश्यक रहेको बताउनुभयो ।
यसै गरि जिल्लाको पूर्वखोला गाउँपालिका अध्यक्ष नून बहादुर थापाले पालिका भित्रका निजि विद्यालयाई सरकारीमा गाभेर शिक्षामा समानतामा कायम राख्ने अभ्यासको सुरुवात गरेको भन्र्दै विद्यालय तहमा पालिकाले छुट्टै निति तथा कार्यक्रम भने नबनाएको बताउनुभयो । विद्यालयतहमा विद्यार्थीको लागि सुरक्षित गर्भपतनका सवालमा जानकारी पाउन निकै आवश्यकता रहेकोले आगामी आर्थिक वर्षको बजेटमा यसलाई समेटेर अगाडी बढ्ने बताउनुभयो । गर्भपतनका आधारभुत पक्ष,ऐन कानुन र प्रक्रिया बारे थाहा भएमा यसले विद्यार्थीको सुमधुर भविष्य उज्जवल बनाउन टेवा पुग्ने बताउनुभयो ।

यता जिल्लाको तिनाउ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल कार्कीले पालिका भित्रका विद्यालयमा सुरक्षित गर्भपनका बारेमा अभिमुखिकरण दिन नसकिएको बताउनुभयो । तिनाउले पनि अबका दिनमा विद्यालय स्तरमा यो खालको कार्यक्रम विस्तार गरि विद्यार्थीलाइ सुरक्षित गर्भपतनका विषयमा सचेत बनाउने बताउनुभयो ।

सुरक्षित गर्भपतनका कानुनी देखि आधारभुत पक्षका बारेमा विद्यालय तहबाटै विद्यार्थी सचेत बनाउन सकेको खण्डमा असुरक्षित गर्भपतनको दरमा केही हदसम्म भए पनि कमी आउने दावी शिक्षाका जानकार एवं त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक राजेश्वर उदय बताउनुहुन्छ । किशोर अवस्थामै असुरक्षित यौनसम्पर्क हुने तर परिवार नियोजन देखि यदि गर्भबसी हालेको खण्डमा चल्नुपर्ने आगामी कदमका बारेमा विद्यार्थी अनविज्ञ हुँदा यसले विद्यार्थीमा मनोवैज्ञानिक असर देखाउने गरेको उहाँले बताउनुभयो ।

किशोर अवस्थामा हुर्कीरहेका विद्यार्थीलाई सुरक्षित गर्भपतनका सम्रग विषयमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको खण्डमा यसले आगामी दिनमा घट्न सक्ने दुर्घटनालाई रेक्न सहयोग पुर्याउँने अपेक्षा गरिएको छ । परिवार नियोजन र प्रजनन स्वास्थ्यका बारेमा प्रभावकारी र जिवनउपयोगी ज्ञान हस्तान्त्रण गर्न सकेको अवस्थामा यसले विद्यार्थीको स्वस्थ र खुशी परिवार निर्माणमा कोसेढुंगा नै सावित हुने देखिन्छ । फलस्वरुप स्थानिय,प्रदेश र संघिय सरकारले आफ्नो निति तथा कार्यक्रममा तर्जुमा गरि विद्यार्थीसँग सुरक्षित गर्भपतनबारे अन्तरक्रिया कार्यक्रमलाई कार्यन्वय गरेको खण्डमा विद्यालय तहमा प्राप्त ज्ञान निकट भविष्यमा आफ्नो परिवार निर्माणमै लागुन गर्न सक्ने बलियो सम्भावना देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *