May 4, 2024

पाल्पा,असोज ०९ ।
सुनिल कार्की  \
पाल्पाका गाउँगाउँमा अझै पनि सुरक्षित गर्भपतनका नाममा असुरक्षित गर्भपतन गराउने घरेलु उपचार विधि अपनाउने गरिएको पाइएको छ । सुरक्षित गर्भपतनका बारेमा सहजै सेवाग्राही खुल्न नसक्नु , ग्रामिण गाउँ बस्तीमा मान्यता प्राप्त सुचिकृत स्वास्थ्य संस्थाको पहुँच नपुग्नु , सुरक्षित गर्भपतनाका सवालमा अन्तरक्रिया सहितको छलफल र सचेतनाका कार्यक्रम गाउँमा नपुग्नु लगायतका कारण ग्रामिण परिवेशका सेवाग्राही अझै पनि घरेलु उपचार विधिबाट असुरक्षित गर्भपतन गराउन बाध्य भएको बताएका छन ।
गाउँ घरमा परापुर्वकाल देखि नै अपनाउँर्दै आइएको रुख प्रजाती कोइरालोको बोक्रा पकाएर खाने, पेटलाई खुट्टाले कुल्चने, भारि सामान बोक्ने लगायतको काम गरेर गर्भको भ्रुणलाई निष्कृय बनाएर असुरक्षित गर्भपतन गराउर्दै आएको पूर्वी पाल्पाको निस्दी गाउँपालिका वडा नं ७ ज्यामिरेकी ४६ वर्षी फनिसरा खाम्चा मगरले बताउनुभयो । तीन सन्तानलाई जन्म दिई सक्नु भएकी फनिसराको क्रमश १७ र १५ वर्षकी दुई छोरी छन भने ५ वर्षका एक छोरा पनि छन । छोराछोरी हुर्काइ सक्नु भएकी उहाँले अहिले गाउँघरको घरेलु उपचारबाट मात्रै १० औं पटक असुरक्षित विधिबाट गर्भपतन गराई सकेको स्वीकार गर्नुभयो । घरमा सासु आमाले तातो पानिमा जडीबुटी पकाएर सेवन गर्न दिँदा गर्भको पतन भएको फनिसरको अनुभव रहेको छ । उहाँले अहिले सम्म दुई छोरीलाई जन्म दिनुभन्दा पहिला ४ पटक र छोरो जन्मनु पहिले तीन पटक र सन्तानको रहर पुगेपछि अन्तिम सम्ममा दुई पटक गरि ९ पटक घरेलु उपचार अपनाई सकेको स्वीकार गर्नुभयो । अझै कति पटक गर्न पर्ने हो मन डराइरहेको छ,आत्तिएको छ उहाँले शालिन मुद्रामा हामीलाई सुनाउनुभयो । मान्यता प्राप्त सुचिकृत स्वास्थ्य संस्था बाकामलाङ , मित्याल र अर्चले स्वास्थ्य चौकि पुगेर सेवा लिन ३ घण्टा पैदल हिडेर जानुपर्छ । आउँदा पनि दुई घण्टा लाग्छ ५ घण्टा लगाएर सेवा लिन जान भन्दा एक घण्टामा गाउँकै जडिबुटिले काम गर्ने भएकोले सेवा लिन पैसा खर्च गरेर नजाने गरेको फनिसरा बताउनुहुन्छ । गाउँमा घरेलु उपचार विधि अपनाउदा न कसैले थाहा पाउने डर न इज्जत जाने डर ढुक्क हुन्छ त्यसैले मैले मात्र होइन अधिकाश गाउँका महिला दिदिबहिनिले घरेलु उपचार नै अपनाउँछौं उहाँ भन्नु हुन्छ ।
यस्तै दुई छोराछोरी क्रमश ७ वर्षकी छोरी र ३ वर्षीय छोराकी आमा जिल्लाको माथागढी गाउँपालिका वडा नं ८ बहादुरपुरकी २४ वर्षी खुमा रानाले पनि अहिले सम्म गाउँघरको उपचार विधिको प्रयोगबाट सातौंैं पटक असुरक्षित तवरबाट गर्भपतन गराइ सकेको बताउनुभयो । गाउँमा सिकर्मीको काम गर्ने श्रीमानले दैनिक घरेलु मदिरा सेवन गर्नुहुन्छ । शारिरिक यौन सम्पर्क राख्दा स्वास्थ्य चौकिबाट लिएर आएको परिवार नियोजनको अस्थायी साधान कण्डम प्रयोग गर्न भन्छु तर उहाँ मान्नु हुन्न । भुक्कीएर गर्भ रहिहाल्छ । मलाई सुचिकृत स्वास्थ्य संस्था कसेनी सेवा लिन जान जिप भाँडा मात्र आउँदा जाँदा गरि रु १ हजार खर्च गर्ने आर्थिक हैसियता छैन । त्यसैले रहर भन्दा पनि बाध्यताले जोखिम मोलेरै भए पनि कोइरालको बोक्रालाई भत्भती तातो पानिमा उमाले खान्छु । मेरो उपाय नै यही हो । मलाई कहिले कहिले लाग्छ धन्न माइतीको हजुरआमाले ज्ञान दिनुभएछ । नभएर म के गर्ने थिए होला । गर्भपतन नगराएको भए अहिले सम्म ७ सन्तान कि आम बनि सक्थे । त्यसैले घरेलु उपचार अपनाउनु मेरो बाध्यता हो खुमा बताउनुहुन्छ ।
यता स्वास्थ्य कार्यालय पाल्पाका अनुसार यसरी घरेलु उपचार विधिबाट असुरक्षित गर्भपतन गराएर विरामी भई अस्पताल भर्ना हुने संख्या पछिल्लो समय बढिरहेको कार्यालयका प्रमुख डा.राजेन्द्र गिरीले बताउनुभयो । अझै पनि ग्रामिण क्षेत्रमा सचेतना र सुचनाको अभावमा घरेलु उपचारको पद्धति अपनाउने गरिएको भन्दै स्थानिय तहले अब सप्ताहाव्यापी कार्यक्रमको रुपमा सचेतनाका कार्यक्रम गाउँका घरघरमा पु्याउन आवश्यता देखिएको डा.गिरीले जिकिर गर्नुभयो । अब पनि ढिला भए यसले ग्रामिण क्षेत्रमा असुरक्षित गर्भपतनको कारण हुने अंगभङ्ग र मृत्यु दरमा समेत वृद्धि हुन सक्ने सम्भावना बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
यसै गरि लामो समय देखि सदरमुकाम देखि गाउँगाउँमा पुगेर सुरक्षित गर्भपतनलाई प्रभावकारी बनाउन घुम्ती शिविर, सडक नाटक , स्वास्थ्य शिविरका माध्यमद्धारा परिवार नियोजनको स्थायी,अस्थायी लामो र छोटो अवधीको परिवार नियोजनका साधन निशुल्क रुपमा वितरण गर्दै आए पनि कोर ग्रामिण क्षेत्रमा गर्भपतनको घरेलु उपचारले हामी जस्ता सेवाप्रदायकलाई चुनौति थपिएको परिवार नियोजन संघ पाल्पा शाखाका शाखा प्रबन्धक शोभकान्त न्यौपनेले जानकारी दिनुभयो ।

पाल्पाको निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुका अनुसार स्थानिय तहले असुरक्षित गर्भपतलाई सुरक्षित बनाउन वडा वडामा सचेता, एकिकृत घुम्ती शिविर सञ्चालन गर्दै आए पनि ग्रामिण वडामा असुरक्षित गर्भपतन गाउँघरकै उपचार विधिबाट हुने गरेको बताउनुभयो । निस्दी गाउँपालिकाले अब सेवाग्राहीलाई सुचिकृत स्वास्थ्य संस्थाबाट नै सेवा लिने वातावरणको सिर्जनाको लागि बृहत सचेतनाको कार्यक्रम विस्तार गरि गर्भपतनको क्षेत्रमा काम गर्ने निकायलाई पनि सँगै लिएर जाने प्रतिबद्धता जनाउनुभयो ।
अहिलेको २१ औं शताब्दीमा पनि सुरक्षितको बहानमा असुरक्षित विधिको प्रयोग हुनुले हाम्रो समाजको सचेतना कुन स्तरमा पुगेको छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । फलस्वरुप आगामी दिनमा राज्यले यति ठुलो लगानी गरेर गाउँगाउँमा सञ्चालनमा ल्याएको मान्यता प्राप्त सुचिकृत स्वस्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा लिने वातावारणको सिर्जना गर्न तीन तहकै सरकार देखि सुरक्षित गर्भपतनको क्षेत्रमा काम गर्ने सरकारी एवं गैर सरकारी निकायले आआफ्नो कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *