बाँदरले अन्नबालीमा क्षति पुर्याए किसानले राहत पाउने, घाइते बनाए दुई लाख रुपैयाँसम्म दिइने

Facebook
X
WhatsApp
LinkedIn

 सरकारले बाँदरबाट भएको क्षतिमा पनि किसानलाई राहत दिने भएको छ । यसअघि अरु विभिन्न वन्यजन्तुबाट भएका क्षतिमा क्षतिपूर्ति दिँदै आएको सरकारले पहिलो पटक बाँदरबाट भएको क्षतिमा पनि राहत दिन थालेको हो ।

वन तथा वातावरण मन्त्रालयले जारी गरेको ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका–२०८०’ मा  बाँदरबाट हुने क्षतिमा पनि क्षतिपूर्ति दिने उल्लेख छ । सरकारले यसअघि हात्ती, गैँडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जङ्गली कुकुर, जङ्गली, बँदेल, अर्ना, मगर गोही, गौरीगाई र अजिङ्गर गरेर १४ वटा वन्यजन्तुका कारण हुने क्षतिबापत राहत दिने गर्थ्याे ।

नयाँ निर्देशिकामा बाँदर र नीलगाईका कारण हुने मानवीय, पशु र अन्नबालीमा गर्ने क्षतिबापत पनि राहत दिने व्यवस्था गरिएको हो । किसानबाट आइरहेको गुनासो र सर्वोच्च अदालतको आदेश समेतलाई ध्यान दिएर बाँदरबाट हुने क्षतिमा क्षतिपूर्ति दिने व्यवस्था शुरु गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक एवम् प्रवक्ता अजय कार्कीले जानकारी दिनुभयो । अब बाँदरबाट खेतीबालीमा भएको क्षतिमा किसानले १० हजार रुपैयाँसम्म क्षतिपूर्ति पाउँछन् ।

भण्डारण गरेको अन्नमा भएको क्षतिमा भने क्षतिपूर्ति पाइँदैन । यस्तै, बाँदरले व्यक्तिलाई घाइते बनाएमा अरु जनावरबाट भएको आक्रमणमा जस्तै उपचारका लागि दुई लाख रुपैयाँसम्म र ज्यान गएमा १० लाख रुपैयाँ राहत रकम दिने निर्देशिकामा उल्लेख छ ।

नेपालको मध्यपहाडका धेरै ठाउँमा बाँदरका कारण मानिसहरु हैरान बनेका छन् । पीडित किसानले क्षतिपूर्ति तथा राहतका लागि सम्बन्धित पालिकाबाट प्रक्रिया पूरा गरी वन कार्यालयहरुमा निवेदन दिनुपर्छ । किसानले निवेदन दिएको एक महिनाभित्र प्रक्रिया पूरा गरी राहत दिइसक्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्