रामपुरका ६७ जना विद्यार्थीले पाए मेयर छात्रवृत्ति

Facebook
X
WhatsApp
LinkedIn

दानु हिस्की \

नगर भित्रका क्याम्पस, सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको लागि पाल्पाको रामपुर नगरपालिकाले छात्रवृत्ति वितरण गरेको छ । मेयर छात्रवृत्ति कार्यक्रम मार्फत कक्षा १ देखि स्नातकोत्तर अध्ययरत ६७ जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको हो ।

रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले विद्यार्थीहरुमा उत्प्रेरणा र उत्साह जगाउन छात्रवृति वितरण गरिएको बताउनुभयो । शिक्षा प्रदान गर्नका लागि नगरपालिका प्रतिवद्ध रहेको बताउँदै नगरले यसै वर्ष बाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई चिकित्साशास्त्र तथा प्राविधिक शिक्षा ग्रहणका लागि नगरले सहयोग गर्न लागेको बताउनुभयो । साना कक्षा देखि ठुला कक्षामा पढ्ने विद्यार्थीलाई छनौट गरेर छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । विगतका वर्षमा विद्यालय तथा क्याम्पसको खातामा पठाएर छात्रवृत्ति वितरण गर्ने गर्दै आएकोमा यस वर्ष नगरपालिका बाटै छात्रवृति प्रदान गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले कार्यविधि बनाएर छात्रवृत्ति वितरण गरिरहेको बताउनुहुदै विद्यार्थी छनौट गर्दा छात्रवृत्ति रकम सहिउपयोग हुने गरी विद्यार्थीलाई सिफारिस गर्न अनुरोध गर्नुभएको छ । कार्यक्रमले नगर भित्र दक्ष र स्वालम्बी नागरिक निर्माणमा टेवा मिल्ने बताउनुभयो । शहीद बहुमुखी क्याम्पस रामपुरका क्याम्पस प्रमुख मुरारी काफ्लेले छात्रवृति कार्यक्रमले विद्यार्थीहरुमा थप उत्साह जगाएको र सकारात्मक प्रभाव परेको बताउनुभयो ।

दरैठाँटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटाले शिक्षा लिन चाहने विद्यार्थीलाई ठुलो सहयोग पुग्ने बताउनुभएको थियो । कार्यक्रमका अध्यक्ष नगरपालिकाका प्रमुख लेखनाथ न्यौपानेले दक्ष जनशक्ति उत्पादन गर्न शैक्षिक क्षेत्रमा लगानी संगै, निशुल्क लोकसेवा कक्षा संचालन, छात्रवृत्ति वितरण तथा विद्यालयमा विभिन्न सामग्री सहयोग नगरपालिकाले गरिरहेको बताउनुहुदै लगनशील भएर पढ्न विद्यार्थीलाई अनुरोध गर्नुभएको थियो । नगर प्रवक्ता कपिलबहादुर खाँणले कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै नगरपालिकाले २०७६÷०७७ देखि नै कार्यविधि बनाएर मेयर छात्रवृति प्रदान गर्दै आईरहेको जानकारी दिनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर शिक्षा अधिकृत विकल काफ्लेले गर्नुभएको हो । नगरपालिकाले कक्षा १ देखि स्नातकोत्तर अध्ययनरत ६७ जना विद्यार्थीहरुहरुलाई ६ हजार २ सय देखि ३० हजार सम्म छात्रवृति प्रदान गरेको हो । विद्यार्थी एवं प्रधानाध्यापकहरुको उपस्थितिमा छात्रवृत्ति प्रदान गरिएको हो । ७ लाख ४८ हजार ६ सय ५० रुपैयाँ बराबरको छात्रवृति विद्यार्थीहरुलाई प्रदान गरिएको हो ।

 

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्