April 16, 2024

पाल्पा \
पाल्पाको रामपुर नगरपालिकाले जिल्ला मै पहिलो पटक डिजिटल परिचयपत्र वितरण गर्न सुरु गरेको छ । नगरपालिकाले ज्येष्ट नागरिक र अपाङ्गता भएकाहरुका लागिे डिजिटल परिचय पत्र वितरण गरेको छ ।

शुक्रबार बाट जेष्ठ नागरिक तथा अपाङ्गता परिचयपत्र वितरण गर्न थालेको हो । यस अघिको परिचयपत्रमा हातले नाम, ठेगाना र विवरण भरेर परिचयपत्र वितरण गरिदै आएको थियो । नगरपालिकाले परिचयपत्र बनाउने डिजिटल मेसिन राखेर नगरपालिकाबाटै परिचयपत्र दिन थालिएको हो । यसअघि परिचयपत्र लिइसकेका सेवाग्राही र नयाँ सेवाग्राहीले आवश्यक कागजात र विवरण उपलब्ध गराएको खण्डमा डिजिटल परिचयपत्र उपलब्ध गराउन सकिने नगरपालिकाले जनाएको छ ।

हातले बनाएका परिचयपत्रहरु पानीमा भिज्ने, अक्षर र फोटो मेटिने, च्यातिने समस्या रहेको थियो । यस्तो समस्या ल्याएर धेरै सेवाग्रहीहरुले गुनासो गरेपछि डिजिटल परिचयपत्र नगरपालिका बाटै उपलब्ध गराउने व्यवस्था मिलाइएको नगर प्रमुख रमण बहादुर थापाले जनाकारी दिनुभयो । परिचयपत्र भिज्ने र ज्यातिने समस्या नहुने , टिकाउ हुने र नागरिकलाई प्रयोग गर्न पनि सहज हुने भएकाले डिजिटल परिचयपत्रको अवधारणा ल्याईएको नगर प्रमुख थापाले बताउनुभयो । अनलाईन प्रविष्टिकरण गरिने भएकाले डिजिटल परिचय पत्र बारकोट मार्फत हेर्न सकिने र हराएमा पनि सजिलै प्रदान गर्न सकिने भएकाले धेरै सहज हुने उहाँले बताउनुभयो ।

रामपुर नगरपालिकाका सूचना प्रविधि अधिकृत महेन्द्र प्रसाद श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुका लागि वर्ग अनुसारको रातो, निलो, पहेँले र सेतो परिचयपत्र र जेष्ठ नागरिकहरुका लागि पूर्ण विवरण सहितको डिजिटल परिचय पत्रको व्यवस्था गरिएको बताउनुभयो । हाललाई परिचयपत्र परिवर्तन गर्ने र नयाँ लिने सेवाग्राहीलाई नगरपालिकाबाटै डिजिटल परिचयपत्र लिन सकिने व्यवस्था गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख पुजा परियारले जानकारी दिनुभयो ।

शुक्रबार रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा र प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले रामपुर नगरपालिका वडा नं. ३ का ७४ वर्षिय टोप बहादुर सिं ठकुरीलाई परिचय पत्र प्रदान गरी डिजिटल परिचय पत्र वितरण शुभारम्भ गरिएको हो । डिजिटल परिचय पत्र लिने आफु पहिलो सेवा ग्राही भएकोमा खुशी लागेको ज्येष्ठ नागरिक टोप बहादुर सिं ठकुरीले बताउनुभयो । सम्भवत पाल्पा मै पहिलो पटक रामपुर नगरपालिकाले डिजिटल परिचय पत्र वितरण शुरु गरेको सफ्टवयर अफ नेपाल प्रालिका ईन्जिनियर गंगाराम रेग्मीले बताउनुभयो । रामपुर नगरपालिकाले यस अघि नै वडा कार्यालय र नगरपालिकाको कार्यालयमा डिजिटल नागरिक वडा पत्र राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *