April 19, 2024

पाल्पा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)  पाल्पाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व समीक्षा कार्यक्रम तानसेनमा सम्पन्न भएको छ । जिल्लामा भएका मानवअधिकार उल्लंघन र मानवअधिकारसँग सरोकार भएका घटनाहरूको पृष्ठपोषण तथा सुझाव संकलनका लागि वार्षिक समीक्षा गरिएको हो ।

कार्यक्रममा इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले सन् २०२२ को अवधिमा मानवअधिकार सम्बद्ध ७७ वटा घटनाहरुलाई अभिलेखीकरण गरेको जानकारी गराउनुभयो । यो अवधिमा पाल्पा जिल्लामा बालअधिकार घटनाका ६, बलात्कारका १०, राजनीतिक तथा नागरिक अधिकार अन्र्तगत ४, महिला हत्याको १, जातीय बिभेद तथा भेदभावपूर्ण व्यवहारको १ र घरेलु हिंसाका ५० वटा घटनाहरुलाई अभिलेखीकरण गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले इन्सेकले हरेक वर्ष नेपाल मानवअधिकार वर्ष पुस्तक मार्फत मानवअधिकार अवस्थाको बिषय उठान गर्दै आएको बताउनुभयो । उहाँले इन्सेकको अभिलेखीकरणले समाजमा मानव अधिकारको अवस्था के कस्तो छ भन्ने चित्रण गरेको पनि बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले इन्सेकले समय समयमा गर्ने यसप्रकारको कार्यक्रम मार्फत जिल्लाको मानवअधिकार अवस्थाबारे छलफलको वातावरण बनेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पन्तले सरकारी निकाय र नागरिक समाजसँगको सहकार्यमा मात्र मानवअधिकारमैत्री समाज निर्माण गर्न सकिने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले पछिल्लो समय पाल्पामा आत्महत्या विषय चुनौती बन्दै गइरहेकोले आत्महत्या न्यूनीकरणको पहल हुनुपर्नेमा जोड दिनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदी, सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख हरिलाल अर्याल, युनाइटेड मिसन अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराई, मिसन अस्पतालका सामाजिक विकास शाखा प्रमुख पुननारायण श्रेष्ठ, पाल्पा अस्पतालका प्रतिनिधि सुशिल ज्ञवाली, पत्रकार किरण कौशल, नवराज ज्ञवाली,प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्की लगायतले आआफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रम मानवअधिकार रक्षक सञ्जाल पाल्पाका अध्यक्ष भगवान भण्डारीको अध्यक्षतामा चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *