April 25, 2024

तेह्रथुम –

करेसाबारी र आँगनको शोभा बढाउँछ फूलले । घरको शोभा बढाउन मात्र होइन यति बेला व्यावसायिकरूपमा फूल खेती गर्न पनि थालिएको छ  । विभिन्न चाडपर्व, कार्यक्रम र उत्सवमा फूलको मालाको प्रयोग हुन थालेपछि व्यावसायिकरूपमा फूल खेती गर्नेहरू बढेका छन् । तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङका किसान महेन्द्र तामाङले एक लाख रुपैयाँको लागतमा फूल खेती गर्नुभयो । तिहारमा फूलको माग बढी हुने र जिल्लामा अरू फूल व्यवसायी नभएकाले उहाँले फूल खेती सुरु गर्नुभयो ।

थोरै लगानीबाट मनग्य आम्दानी लिने सोचका साथ फूल खेती गर्नुभएका तामाङले लगाएको फूल यति बेला खेर गइरहेको छ । तिहार लक्षित गरेर लगाइएको सयपत्री फूल तिहार सकिएपछि फुलेकाले तामाङको मेहनत बालुवामा पानी खन्याएजस्तै भएको छ । यति बेला उहाँको बारीमा फूल फुलेर ढकमक भएको छ । यस वर्षको तिहार गएको वर्षको तुलनामा केही समयअघि भएकाले रोप्ने समयमा ख्याल नगरि रोप्दा नोक्सान बेहोर्नुपरेको महेन्द्रकी श्रीमती अम्बिका तामाङले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ,  ‘अरू नै खेती गर्दै आएका थियौँ । फूल खेतीबाट राम्रो आम्दानी लिनका लागि धरानबाट दुई सय पाँच सय बिरुवा ल्याइ तीन रोपनी क्षेत्रफल जग्गामा लगाइएको फूल अहिले खेर गइरहेको छ । अरू नै खेती लगाको भए अलि अलि भए नि आम्दानी हुन्थ्यो । फूल लगाएर बेकार भयो ।’ लगानी नै फसेको उहाँले गुनासो गर्नुभयो ।

फूल बिक्री हुने समय सकिएकाले फूल त्यतिकै बारीमै खेर जाने तामाङको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘धेरै राम्रो फूल भए पनि बिक्री नभएपछि के गर्नु बाख्रालाई खुवाएर नि सकिँदैन । ठूल्ठूला सहरमा बाह्रै महिना फूलको माग हुने गर्छ अरे तर यहाँ त त्यहाँसम्म पुर्‍याउने बाटोघाटो नि छैन । यहाँ त यतिकै नाश भएर जाने भयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *