मङ्सिर ७ गतेभित्र प्रत्यक्षतर्फकाे नतिजा सार्वजनिक गर्ने आयाेगकाे याेजना

Facebook
X
WhatsApp
LinkedIn

काठमाण्डौ – आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा प्रत्यक्षतर्फको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ ।

चुनावको तयारीबारे जानकारी दिन आज बिहीवार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनाव भएको तीन दिन अर्थात् मङ्सिर ७ गते बेलुकासम्ममा प्रत्यक्षतर्फका सबै नतिजा सार्वजनिक गरिसकिने कार्ययोजना रहेको बताउनुभयो ।  ंसबै मतपेटिका सङ्कलन भएको लगत्तैदेखि मतगणना सुरु हुनेछ’, उहाँले भन्नुभयो, ‘तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएका छौँ ।’

मङ्सिर २२ गतेभित्र चुनावको सबै नतिजाको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष बुझाउन चाहेको जनाउँदै उहाँले भन्नुभयो, ‘निर्वाचन प्रक्रियामा सबैको प्रतिबद्धता र सहयोग भएको खण्डमा त्यो सम्भव हुन्छ भन्नेमा आयोग ढुक्क छ ।’ अस्वाभाविकरूपले मतदान भएका केन्द्रलाई आयोगले विशेष सूचीमा राख्ने जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा तीन वटा सुरक्षा घेरा रहने व्यवस्था गरिएको बताउनुभयो ।

उहाँले कुनै केन्द्रमा अप्रिय घटना भएमा ३० मिनेटभित्र नेपाली सेना पुग्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

थ कब्जा गरेर चुनाव जित्ने सोच नराख्न राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिँदै उहाँले वारेसका आधारमा मतदान गर्ने प्रवृत्तिलाई निस्तेज तुल्याइने बताउनुभयो ।

यही मङ्सिर ४ गते देशभर एकै चरणमा हुने चुनावको सबै तयारी पूरा भएको आयोगले जनाएको छ । यस चुनावमा एक करोड ७९ लाख ८० हजार पाँच सय ७० मतदाता कायम छन् । यही मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका बालिग मतादाताले चुनावमा मतदान गर्न पाउने छन् ।

मतदानका लागि १० हजार आठ सय ९२ मतदान स्थलमा २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । यस्तै एक सय ४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट झन्डै चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नेछन् ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्