किबी खेतीले प्रसिद्ध पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका ढोलीमारा यतिबेला पुन: होमस्टेको चर्चामा छ। आगन्तुक पाहुनाहरुलाई मिठो स्वागत गर्ने ढोलीमाराका स्थानिय समुदायले बाजागाजा सहित गरिएको पाहुनाको सत्कारलाइ जो कसैले भुल्न सक्दैन। बुटवलदेखि करिव ६५ किलोमिटर पूर्व उत्तरमा रहेको पर्यटकीय गाउँ पुर्वखोलाको ढोलीमाराले अहिले आन्तरिक तथा बाह्य पर्यटकको मन सजिलै जितेको छ।
पछिल्लो समय नेपालका पर्यटकिय धार्मिक एबम ऎतिहासिक स्थलमा होमस्टेको प्रचलन बढ्दो छ।पूर्वखोला गाउँपालिका पी त्यसमध्येको एक प्रसिद्ध ठाउँ हो। पाहुनाको सत्कारमा सबै स्थानिय मिली अघि बढेका पुर्वखोलाबासीहरुले दिएको न्यानो सत्कारसंगै उनीहरुको परम्परागत बाजा, नांच अनि खानको परिकारले जो कसैलाई होमस्टेमा तान्छ।
ढोलीमारा सामुदायिक होमस्टेको बारेमा कुरा गर्दै पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले गाउँपालिकाको शानको रुपमा रहेको ढोलीमारा सामुदायिक होमस्टेले छोटो समयमै ग्रामीण पर्यटन विकासको आधार तयार पारेको बताए । साथै उनले ढोलीमारामा होमस्टे सञ्चालन हुन थालेपछि गाउँको पहिचान बढेको, स्थानीयहरुमा स्वरोजगार सिर्जना सम्भव भएको र गाउँको उत्पादन गाउँमै खपत हुन थालेकोले आफू खुसी भएको बताउँदै होमस्टेको स्थायित्वका लागि आवश्यक पर्ने सबै पूर्वाधारका निम्ति कटिवद्ध रहने बताए । गाउँपालिकाकी उपाध्यक्ष भागिरथा भट्टराईले महिलाहरुको सार्थक सहभागितामा सञ्चालित ढोलीमारा सामुदायिक होमस्टेले महिला जागरण, आर्थिक उपार्जन र सांस्कृतिक गतिविधिहरुलाई टेवा दिएको बताइन् । सो बारेमा कुराकानी गर्दै वडा नम्बर २, जल्पाका अध्यक्ष निरबहादुर सारुले आफूहरुको लामो प्रयास र अभ्यासपछि ढोलीमारा गाउँमा होमस्टे सुरुआत् भएकोले यसको दीर्घकालीन सञ्चालन र व्यवस्थापनका निम्ति सबैको सहयोग र आन्तरिक तथा बाह्य पर्यटनको लागि सहयोग आवश्यक भएको बताए ।
चिसो मौसम, शान्त रमणिय र उत्कृस्ट गन्तव्य र आरामदायी बसोबासको लागि ढोलीमारा होमस्टेको सेवाले जो कसैको मन पगाल्छ। अर्गानीक खाजा खानासंगै स्थानिय मगर नांच अनि स्थानिय सस्कृतिको जगेर्ना गर्ने गरी पन्चेबाजा र विभिन्न नृत्यमा तल्लिन होमस्टेले पछिल्लो समय सबैको मन जितेको छ। होमस्टेमा मन बहादुर ठाडा मगरको नेतृत्वमा स्थानिय आमा समूह, युवा क्लब तथा बाल समुहको समेत उल्लेख्य सहभागिता रहने गरेको छ। मंगलबार लुम्बिनी फोटोग्राफर संघ रुपन्देहीका पदाधिकारी सहित कार्यसमिति र सल्लाहकार सहितको टिम पूर्वखोला गएर त्यहाँको पर्यटन प्रबर्द्धनका लागि फोटो एबम भिडियो मार्फत थप टेवा दिएको छ। संघका अध्यक्ष दिनेश अर्याल सहित केन्द्रिय अध्यक्ष महेन्द्र उपाध्याय, निबर्तमान अध्यक्ष मनिष पन्थ, सल्लाहकार दल बहादुर गुरुङ सहित गएको टिमले स्थानिय पर्यटनको आधारा लाइ थप सृजना गरेको छ। ढोलीमारा होमस्टेको थप उजागरका लागि सबैको सहयोग अपरिहार्य छ। यसको दीर्घकालीन सञ्चालन र व्यवस्थापनका निम्ति गाउँपालिकासंगै प्रदेश सरकार तथा छिमेकी स्थानिय तहले पनि हातेमालो गर्नु जरुरी छ।