उमेर पुगेर विवाह गर्ने जोडीलाई सम्मान

Facebook
X
WhatsApp
LinkedIn

गुल्मी । यहाँको मदाने गाउँपालिका–१ स्थित अग्लुङ गाउँमा उमेर पुगेर विवाह गर्ने जोडीलाई आज वडा कार्यालयले सम्मान गरेको छ ।

शैक्षिक उत्प्रेरणा कार्यक्रमअन्तर्गत सामाजिक सचेतनाका लागि २० वर्ष उमेर पूरा गरी विवाह गरेका तीन जोडी नवविवाहित दम्पतीलाई वडा कार्यलयले सम्मान गरेको वडाध्यक्ष सुशील चन्दले जानकारी दिनुभयो । ‘विवाहबारी–२० वर्ष पारी’ भन्ने मूल उद्देश्यका साथ बालविवाह न्यूनीकरण गर्न वडा कार्यालयले उक्त कार्यक्रम गरेको उहाँले बताउनुभयो ।

वडाले असल बुहारी तथा छोरीलाई पनि सम्मान गरेको छ । वैदेशिक रोजगारीमा छोराहरु जाने तथा बुहारीहरु छोराछोरी पढाउन सहर पस्ने चलन बढेको छ । बुहारीहरु सहर पसेपछि गाउँमा वृद्धवृद्धाहरु मात्रै हुन थालेकाले वृद्ध बुबाआमाले दुःख पाएको अवस्थामा सासूससुरा तथा बुबाआमासँगै रहेर पालनपोषण गरेका बुहारी तथा छोरीहरुलाई वडाले सम्मान गरेको हो । शैक्षिक उत्प्रेरणा कार्यक्रममार्फत १० जना असल बुहारीलाई सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।

वडाले उत्कृष्ट शिक्षक, उत्कृष्ट किसान, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कर्मचारी र उत्कृष्ट सामाजिक सङ्घसंस्थालाई समेत सम्मान गरेको छ ।  विभिन्न विधामा रहेर वडाका लागि योगदान गरेकाहरुलाई दोसल्ला सम्मानपत्रसहित सम्मान गरिएको वडाध्यक्ष चन्दले जानकारी बताउनुभयो । कार्यक्रममा एसइईमा उत्कृष्ट हुने विद्यार्थीलाई रु १० हजार, कक्षा ८ मा उत्कृष्ट हुनेलाई रु पाँच हजार तथा कक्षा ५ मा उत्कृष्ट हुने विद्यार्थीलाई रु तीन हजार नगदसहित सम्मान गरिएको छ ।

शैक्षिक तथा सामाजिक सचेतनाका लागि वडाबाट गरिएका यस्ता कार्यक्रमबाट समाजका आम नागरिकहरुमा थप उत्प्रेरणा जाग्ने बताइएको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्